मुम्बई । एक अवार्ड समारोहमा अभिनेता सलमान खान र गायक अरिजित सिंहबिच भएको विवादले ठुलो चर्चा पाएको थियो। त्यस झगडापछि सलमान खानको फिल्म ‘सुल्तान’ बाट अरिजितको गीत हटाइएको थियो, जसले विवादलाई झनै बढाएको थियो।
तर, वर्षौँ लामो यो मनमुटाबपछि अहिले सलमान र अरिजितबिच सुमधुर सम्बन्ध स्थापित भएको छ। सलमानले स्वयं यस कुराको खुलासा गर्दै आफ्नो गल्ती स्वीकारेका छन् र उक्त मामिलामा गलतफहमी आफ्नै पक्षबाट भएको बताएका छन्।
हालै ‘बिग बोस १९’ को ‘विकेन्ड का वार’ एपिसोडमा कमेडियन रवि गुप्ता होस्टका रूपमा पुगेका थिए। उनले सलमानलाई आफ्नो अनुहार अरिजित सिंहसँग मिल्ने भएकाले कार्यक्रममा आउन डर लागेको बताएका थिए। यस कुरा सुनेर सलमान हाँसे र भने, ‘अरिजित र म धेरै मिल्ने साथी हौँ। त्यो गलतफहमी थियो र त्यो मेरो साइडबाट भएको थियो।’
सलमानले थप भने, ‘उसले मेरा लागि गीतहरू पनि गाएको छ। अहिले ‘टाइगर’ मा गरेको छ र अगाडि ‘गलवान’ (फिल्म) मा पनि गर्दैछ।’
विवाद के थियो?
यो विवाद सन् २०१४ को गिल्ड अवार्ड समारोहमा भएको थियो। गायक अरिजित सिंह ‘तुम ही हो’ गीतका लागि अवार्ड लिन स्टेजमा पुगेका थिए। त्यतिबेला सलमान खान र रितेश देशमुख स्टेजमा थिए र उनीहरू गायकसँग लगातार रमाइलो गरिरहेका थिए। स्टेजमा आएर अरिजितले भनेका थिए, ‘तपाईँहरूले त सुताउनुभयो।’
यसमा सलमानले भनेका थिए, ‘यसमा हाम्रो कुनै दोष छैन, यस्ता गीत (तुम ही हो) बजिरह्यो भने दर्शक सुत्छन् नै।’
अरिजित कुनै जवाफ नदिई स्टेजबाट ओर्लिएका थिए। तर, त्यसपछि सोही गीत ‘तुम ही हो’ का लागि उत्कृष्ट लिरिक्स को अवार्ड लिन पुगेका मिथुनले अरिजितको बेइज्जतीको जवाफ दिए। मिथुनले भनेका थिए, ‘तुम ही हो’ गीतले मानिसहरूलाई सुताएको छैन, जगाएको छ।’
यसपछि सलमानले फेरि ठट्टा गर्दै भनेका थिए, ‘तपाईंका गायक सुतेर आएका छन्।’ जवाफमा मिथुनले भने, ‘अरिजितले धेरै धैर्यका साथ गाएको छ र यो धैर्य संगीत उद्योगका लागि आवश्यक छ।’
त्यसपछि सलमानले मिथुनको पाइन्टमा टाँसिएको एउटा कागजको टुक्रा निकालेर उनको पनि ठट्टा गरे। यसको जवाफमा मिथुनले भनेका थिए, ‘तपाईँ ६ घण्टासम्म बसाएर राख्नुहुन्छ, त्यसैले यस्तो हुन्छ।’
मिथुनको कुरा सुनेर सलमान हाँस्दा हाँस्दै रोकिए र रिसले चिच्याउँदै भने, ‘तिम्रो भयो अब निक्ल।’
यसमा मिथुनले भनेका थिए, ‘म डराएको छैन।’
यी दुईबिचको मनमुटाब देखेर सबै गम्भीर भएका थिए।
यो विवाद भएको समयमा अरिजित सिंहले सलमान खानको फिल्म ‘सुल्तान’ का लागि गीत गाएका थिए। तर, केही दिनपछि नै फिल्मबाट उनको गीत हटाइएको थियो।
यो खबर पाएपछि अरिजित सिंहले सामाजिक सञ्जालमा पोस्ट गर्दै सलमानसँग माफी मागेका थिए र आफ्नो गीत फिल्मबाट नहटाउन बिन्ती गरेका थिए। यद्यपि, माफीको कुनै असर परेको थिएन।