हिन्दी सिनेमाकी दिग्गज अभिनेत्री ऐश्वर्या राय बच्चनलाई एक समय सन् १९९४ को ब्लकबस्टर फिल्म ‘मोहरा’ को अफर आएको थियो। तर, उनले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितालाई गम्भीरतापूर्वक लिएकाले उक्त फिल्मको प्रस्ताव अस्वीकार गरिन् ।
त्यसपछि त्यो फिल्म अर्की अभिनेत्रीको हातमा गयो, जसको भाग्य चम्कियो र उनी ऐश्वर्याभन्दा पनि ठुली सुपरस्टार बनिन् । यहाँ जसको कुरा भइरहेको छ, ती अभिनेत्री हुन् रवीना टन्डन ।
आईएमडीबीको रिपोर्टअनुसार सन् १९९४ मा आएको अक्षय कुमार र सुनील शेट्टी अभिनित ‘मोहरा’ को अफर ऐश्वर्या रायलाई मिलेको थियो। तर, उनी त्यतिबेला मिस वर्ल्ड प्रतियोगिताको तयारीमा थिइन् र अन्ततः सोही वर्ष उनले उक्त उपाधि जितिन् ।
ऐश्वर्याले फिल्म अस्वीकार गरेपछि रवीना टन्डनले ‘मोहरा’ मा रोमा सिंहको भूमिका पाइन्। यो फिल्म रवीनाको अभिनय करियरका लागि कोशेढुङ्गा साबित भयो। फिल्मको सफलतापछि उनी रातारात स्टार बनिन् ।
‘मोहरा’ त्यो वर्ष सलमान खानको ‘हम आपके है कौन’ पछि बक्स अफिसमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको थियो ।
यद्यपि, ‘मोहरा’ का लागि रोमा सिंहको भूमिकामा पहिले अभिनेत्री दिव्या भारतीलाई लिइएको थियो, तर उनको आकस्मिक निधनका कारण निर्माताहरूले ऐश्वर्या रायसहित अन्य अभिनेत्रीहरूलाई सम्पर्क गरेका थिए ।