वीरगञ्ज । बलिवुडका चर्चित अभिनेता गोविन्द अस्पताल भर्ना भएका छन् । गए राति आफ्नै घरमा अचानक बेहोस भएपछि उनलाई मुम्बईको जुहूस्थित एक अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरूले जनाएका छन् ।
अभिनेताका साथी तथा कानुनी सल्लाहकार ललित बिन्दलले गोविन्दको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । बिन्दलका अनुसार, हिजो साँझ घरमै हुँदा अचानक स्मरण शक्ति गुमाउँदै गोबिन्दा बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
बिन्दलले भने, “उनी ठिक महसुस गरिरहेका थिएनन्, अलि कमजोर र बेचैन महसुस गरिरहेका थिए । त्यसपछि हामीले डाक्टरसँग परामर्श गर्यौँ र औषधि सुरु गर्यौँ, तर उनी राति फेरि बेचैन भए । त्यसपछि मैले उनलाई बिहान १ बजेतिर अस्पतालमा भर्ना गरेँ । उनी हाल डाक्टरको निगरानीमा छन् ।”
गोविन्दको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ । थप विवरण आउन बाँकी छ ।