×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । महोत्तरी जिल्लास्थित बर्दिबास नगरपालिकाले २० वर्ष उमेर पूरा गरी विवाह गर्ने युवतीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरको १८औँ नगर सभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा उक्त व्यवस्था समावेश गरिएको हो ।

बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले यस्तो प्रोत्साहन योजना ल्याइएको नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले बताए । उनका अनुसार आगामी आर्थिक वर्षदेखि लागू हुने यस व्यवस्थाअनुसार उमेर पुगेर विवाह गर्ने नगर क्षेत्रका प्रत्येक छोरीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछिन् ।

“बालविवाहलाई निरुत्साहित गर्दै कानुनअनुसार उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने सचेतना अभिवृद्धि गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छौँ,” नगरप्रमुख क्षेत्रीले भने । उनले यो व्यवस्थाप्रति समाजका विभिन्न तहबाट सकारात्मक प्रतिक्रिया आएको पनि जानकारी दिए ।

यसअघि २०८० साल चैत ५ गते नगरपालिकाले मुसहर समुदायलाई लक्षित गरी उमेर पुगेपछि विवाह गर्ने जोडीलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने घोषणा गरेको थियो । नगर कार्यपालिकाको कार्यालयका अनुसार हालसम्म बर्दिबास–१२ का एक जोडीले मात्र उक्त प्रोत्साहन रकम लिएका छन् ।

नगरका सामाजिक–राजनीतिक कार्यकर्ता देवनारायण महतोका अनुसार मुसहर समुदायका लागि ल्याइएको प्रोत्साहन योजनाबाट न्यून दाबी हुनु समुदायमा अझै बालविवाहको समस्या कायम रहेको सङ्केत हो ।

जम्मा १४ वडा रहेको बर्दिबास नगरपालिकामा करिब एक लाख जनसङ्ख्या बसोबास गर्छ । पछिल्लो दुई वर्षमा १३ वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् भने बर्दिबास–१२ मात्र घोषणा हुन बाँकी छ ।

नयाँ व्यवस्थाअनुसार नगरका सबै समुदायका छोरीहरूले २० वर्ष उमेर पुगेपछि विवाह गर्दा ५१ हजार रुपैयाँ पाउनेछन् । यद्यपि मुसहर समुदायका हकमा भने यसअघिदेखि लागू व्यवस्था यथावत् राखिएको छ । उक्त व्यवस्था अनुसार, उमेर पुगेपछि विवाह गर्ने पुरुष र महिला दुवैले प्रोत्साहन रकम पाउनेछन् ।

मुसहर समुदायमा बालविवाहका घटना अपेक्षाकृत बढी पाइने भएकाले नियन्त्रणका लागि दुवै पक्षलाई प्रोत्साहन दिने व्यवस्था कायम राखिएको नगरप्रमुख क्षेत्रीले स्पष्ट पारे ।

नगरपालिकाले लागू गर्न लागेको यो योजना बालविवाह न्यूनीकरण र सामाजिक सचेतना अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Back to top