×

मधेस प्रदेश । प्रविधिको तीव्र विकाससँगै किशोरकिशोरीहरूमा मोबाइल, डिजिटल उपकरण र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अत्यधिक प्रयोग लतको रूपमा फैलिन थालेको छ। ११ देखि २० वर्ष उमेर समूहका बालबालिका विषयगत गृहकार्यदेखि लिएर दैनिक कार्यसमेत एआईमा निर्भर हुन थालेपछि यो समस्या सामाजिक र मानसिक सङ्कटका रूपमा देखा परेको सरोकारवालाहरूले बताएका छन्।

पर्सा, बारा र रौतहटसहित मधेस प्रदेशभर डिजिटल र एआई लत भयावह बन्दै गएको अभिभावक र शिक्षकहरूको भनाइ छ। बालबालिका मोबाइल नपाउँदा अस्वाभाविक व्यवहार गर्ने, छटपटी देखाउने र टिकटक, फेसबुक तथा अनलाइन गेममा अत्यधिक समय बिताउने समस्या तीव्र रूपमा बढेको अभिभावकहरूको गुनासो छ।

अभिभावकको अनुभव

सखुवाप्रसौनी गाउँपालिका–२ का अभिभावक प्रभु यादव भन्छन्, “मोबाइल नदिँदा छोराछोरी छटपटिन्छन्, पागलजस्तै बन्छन्। यो लत कसरी हटाउने भनेर अहिले धेरै चिन्तित छु।”

शिक्षक र विज्ञहरूको चेतावनी

शिक्षक र शिक्षाविद्हरूले एआईमा बढ्दो निर्भरता बालबालिकाको सिर्जनात्मकता, सामाजिक व्यवहार र भविष्यको बौद्धिक विकासमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्।

पर्सागढी नगरपालिका–का शिक्षक चेतमनदास थारू भन्छन्, “अहिले नै ध्यान नदिए एआईको लतले उनीहरूको भविष्य बर्बाद गर्न सक्छ। अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण छ।”

यस्तै, पटेर्वासुगौलीका शिक्षक सुभाष दास भन्छन्, “एआईले सुविधा त धेरै दिन्छ, तर यसको दुरुपयोगले बालबालिकाको सिर्जनात्मकता र सामाजिक कौशलमा नकारात्मक असर पार्ने निश्चित छ।”

लत नियन्त्रणका लागि समन्वित पहल आवश्यक

शिक्षकद्वय थारू र दासका अनुसार डिजिटल र एआईको लत केवल रोकथाम वा निषेध गरेर मात्र नियन्त्रण सम्भव छैन। अभिभावक, शिक्षक, विद्यालय र राज्यको संयुक्त प्रयास आवश्यक छ।

उनीहरूले सुझाएका उपायहरू :

  • मोबाइल प्रयोगको निश्चित समय तोक्ने

  • बालबालिका के हेर्छन् वा प्रयोग गर्छन् भन्नेमा नियमित निगरानी

  • खेलकूद, कला, पढाइ तथा सामाजिक गतिविधिमा सहभागी गराउने

  • विद्यालयमार्फत डिजिटल स्वास्थ्य र एआईको संतुलित प्रयोगबारे अभिमुखीकरण

  • परिवारका सदस्यबीच नियमित संवाद र गुणस्तरीय समय बिताउने

यदि समयमै नियन्त्रण गर्न नसकिए आगामी पुस्ताको मानसिक र बौद्धिक विकासमा गम्भीर चुनौती पैदा हुने शिक्षकहरूको चेतावनी छ।

Back to top