वीरगञ्ज । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलले वीरगञ्ज–१० मा अवस्थित ऐतिहासिक घडिअर्वा पोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। वातावरण संरक्षण, पोखरीको सौन्दर्य अभिवृद्धि तथा समुदायमा स्वच्छताको सन्देश प्रवाह गर्ने उद्देश्यले होटलले उक्त अभियान सञ्चालन गरेको जनाएको छ।
आयोजित कार्यक्रममा होटलका म्यानेजर केशवराज बस्याल, सामुदायिक प्रहरी कुमार विश्वकर्मा, पत्रकार सञ्जय यादव, सर्वण साहलगायत स्थानीय समाजसेवी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले पोखरी परिसरमा थुप्रिएको फोहोर संकलन गर्दै स्वच्छ र सफा वातावरण निर्माणमा योगदान दिएका थिए।
कार्यक्रमका सहभागीहरूले घडिअर्वा पोखरी वीरगञ्जको महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण र नियमित सरसफाइमा सबै पक्षको साझा दायित्व रहेको बताएका छन्। यस्ता सामाजिक तथा वातावरणीय अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि हुने विश्वाससमेत व्यक्त गरिएको छ।
सिद्धार्थ दियालो होटलले आगामी दिनमा पनि वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा सामाजिक सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।