×

वीरगञ्ज । श्री नेपाल चौहान कल्याण समाज, पर्सा–वीरगञ्जले चौहान जातिलाई राज्यद्वारा अल्पसंख्यक समुदायका रूपमा सूचीकृत गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबार काठमाडौंमा ज्ञापनपत्र पठाएको छ। उक्त ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री कार्यालयमा पठाइएको हो।

वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा केन्द्रीय कार्यालय रहेको समाजले चौहान समुदायको स्पष्ट जातीय पहिचान स्थापित गर्दै राज्यका सबै निकायमा छुट्टै रूपमा सूचीकृत गर्नुपर्ने माग गरेको जनाएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा जातीय सूचीकृत अभियानका संयोजक चन्देश कुमार चौहानले पर्सा जिल्लाका विभिन्न स्थानीय तहमा करिब पाँच हजार चौहान समुदायका नागरिकको बसोबास रहे पनि सरकारी अभिलेख, जनगणना, नागरिकता तथा अन्य आधिकारिक कागजातमा उनीहरूको स्पष्ट पहिचान नभएको बताए। उनले यसकै कारण समुदाय राज्यबाट प्राप्त हुने विभिन्न अवसर, सुविधा तथा समावेशी व्यवस्थाबाट वञ्चित हुँदै आएको दाबी गरे।

ज्ञापनपत्रमा राष्ट्रिय समावेशी आयोगद्वारा गरिएको जातीय सूचीकृत प्रक्रियामा चौहान जातिलाई अन्य जातिको सूचीमा समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ। यसले नेपालको संविधान–२०७२ ले सुनिश्चित गरेको मौलिक हक, समावेशी प्रतिनिधित्व तथा राज्यबाट प्राप्त हुने विभिन्न अधिकार र सुविधाको प्रभावकारी उपयोगमा कठिनाइ उत्पन्न भएको उल्लेख गरिएको छ।

समाजका अनुसार “मधेसी समुदायको थर सूचीकरण–२०७८” को क्रमसंख्या ५० मा चौहान थर समावेश भए पनि सरकारी अभिलेख र जनगणनासम्बन्धी सफ्टवेयरमा अन्य जातिअन्तर्गत राखिएकाले वास्तविक पहिचान ओझेलमा परेको छ। त्यसैले चौहान समुदायलाई छुट्टै अल्पसंख्यक समुदायका रूपमा सूचीकृत गरी आवश्यक अभिलेख तथा प्रणाली सच्याउन माग गरिएको छ।

ज्ञापनपत्रमार्फत चौहान समुदायको पहिचान, प्रतिनिधित्व, राज्यका निकायमा पहुँच, हकहित संरक्षण, सांस्कृतिक प्रवर्द्धन तथा संवैधानिक अधिकारको सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यक नीति, कानुनी व्यवस्था र कार्यक्रम ल्याउन समेत आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले मागपत्र सम्बन्धित निकायमा यथाशीघ्र पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

समाजले उक्त ज्ञापनपत्रको बोधार्थ राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, तथ्यांक विभाग, मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत सम्बन्धित निकायहरूमा समेत पठाएको जनाएको छ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष अवधबिहारी प्रसाद चौहान, अधिवक्ता हरिशंकर चौहान, अधिवक्ता राजेन्द्र चौहान, आशा चौहान, लखनलाल चौहानलगायत चौहान समुदायका एक दर्जनभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो।

Back to top