जर्मनीका वित्तीय नियामकहरूले सोमबार अनलाइन बैङ्क एन–२६माथि नयाँ प्रतिबन्धहरू लगाएका छन्। वित्तीय संस्थालाई नियमन गर्ने अनुगमनकारी संस्था बाफिनले गत वर्ष गरिएको विशेष लेखापरीक्षणपछि यो ऋणदातालाई प्रभावित गर्ने पछिल्लो कदम भएको जनाएको छ।
बाफिनले एन–२६ मा "जोखिम र गुनासो व्यवस्थापन र ऋण व्यवसायसम्बन्धी गम्भीर कमजोरीहरू" रहेको बताएको छ।
नियामक बाफिनले एन–२६ लाई समस्याहरू समाधान गर्न कदम चाल्न आदेश दिनुका साथै बैङ्कको प्रगतिको अनुगमन गर्न ‘विशेष प्रतिनिधि’ नियुक्त गरिरहेको बताएको छ। थप प्रतिबन्धका रूपमा बैङ्कलाई नेदरल्यान्ड्समा नयाँ धितो ऋण सञ्चालन गर्नबाट रोकिएको र थप पुँजी राख्न आदेश दिइएको नियामक संस्था बाफिनले जनाएको छ।
सन् २०१३ मा स्थापना भएको र २४ देशहरूमा सञ्चालन भएको एन–२६ ले एएफपीलाई उपलब्ध गराएको विज्ञप्तिमा आफू ‘सुपरिवेक्षण अधिकारीहरू र नियुक्त विशेष प्रतिनिधि’सँग निकट र रचनात्मक छलफलमा रहेको जनाएको छ। बैङ्कले प्रशासन सञ्चालन संरचनामा समायोजनजस्ता उपायहरूको साथ योजना कार्यान्वयन गरिरहेको बताएको छ।
यो अनलाइन बैङ्कको लागि पछिल्लो समस्या हो। बैङ्क सन् २०१८ देखि नियामकको मार्गनिर्देशमा रहेको छ, जब मिडिया अनुसन्धानले नक्कली परिचयपत्रले खाता खोल्न सम्भव भएको देखाएको थियो। त्यसपछि बैङ्कलाई सम्पत्ति शुद्धीकरण विरोधी कार्यमा समस्याको लागि ठूलो जरिवाना लगाइएको थियो। यी चिन्ताहरूले नियामकहरूलाई यसले स्वीकार गर्न सक्ने नयाँ ग्राहकहरूको सङ्ख्यामा नियन्त्रण गर्न बाध्य पारेको थियो, यद्यपि त्यो नियन्त्रण गत वर्ष हटाइएको थियो। यस वर्षको सुरुमा कमजोरीहरूको बारेमा चिन्ता बढ्दै जाँदा एन–२६ ले आफ्नो शीर्ष नेतृत्वलाई फेरबदल गरेको थियो।