×

नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवालाई अझ गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधिका राउटर (सीपीई) र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ । वाइफाई ६ प्याकेजअन्तर्गत अब न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट वितरण गरिने कम्पनीले जनाएको छ ।

यसअघि वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत उपलब्ध गराउन लागेको हो । नयाँ प्रविधिका उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या समाधान हुने र इन्टरनेटको गति थप तीव्र हुने टेलिकमको दाबी छ । वाइफाई ६ प्रविधिले धेरै डिभाइस एकैपटक कनेक्ट गर्न, सबै प्रयोगकर्ताले फुल स्पिडमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन तथा सुरक्षित र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

ग्राहकका लागि वाइफाई ६ अन्तर्गत इन्डिभिजुअल र प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध गराइनेछ । इन्डिभिजुअल प्याकेजअन्तर्गत इन्टरनेट र टेलिफोन, इन्टरनेट–बेसिक एनटीटीभी–टेलिफोन तथा इन्टरनेट–प्रिमियम एनटीटीभी–टेलिफोन मध्ये कुनै एक प्याकेज रोज्न सकिनेछ । त्यसैगरी प्रिमियम प्याकेजअन्तर्गत प्रिमियम इन्टरनेट मात्र, प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी तथा प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभी मध्ये कुनै एक प्याकेज छनोट गर्न सकिनेछ ।

यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमतामा उपलब्ध हुनेछन् भने मोबाइलका लागि डाटा सुविधा पनि समावेश रहने टेलिकमले जनाएको छ ।

वाइफाई ६ प्रविधिको सीपीई र एपी, एफटीटीएचको नयाँ दररेट तथा अन्य विवरण नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिनेछ । साथै ‘नेपाल टेलिकम’ एप प्रयोग गरी प्याकेजसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ। यसबारे थप जानकारीका लागि १९८ मा फोन गर्न वा नजिकको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

Back to top