नेपालका अधिकांश घरमा बिहानको सुरुवात चिया वा कफीबाट हुन्छ। धेरैले यसलाई आफ्नो प्रिय पेय मान्छन्।
यही लतका कारण कतिपय अभिभावकले आफ्ना साना छोराछोरीलाई पनि एक–दुई घुट्की भन्दै चिया वा कफी दिने गर्छन्। तर, ठुलाका लागि सामान्य लाग्ने यो बानीले बालबालिकाको स्वास्थ्यमा भने गम्भीर र दीर्घकालीन असर पुर्याइरहेको हुन्छ।
चिया र कफीमा पाइने क्याफिनले बालबालिकाको कलिलो शरीरमा वयस्कको तुलनामा निकै तीव्र असर गर्छ। बालबालिकाको मस्तिष्क र स्नायु प्रणाली विकास भइरहेको अवस्थामा क्याफिनले निद्रा, भोक र एकाग्रतामा गडबडी ल्याउँछ।
विशेषज्ञका अनुसार क्याफिनले मस्तिष्कमा निद्रा लगाउने रसायन 'एडेनोसिन' लाई रोकिदिन्छ, जसका कारण बालबालिकाले थकाइ महसुस गर्दैनन् तर भित्रभित्रै उनीहरूको शरीर शिथिल भइरहेको हुन्छ। यसले गर्दा उनीहरू ढिलो सुत्ने, गहिरो निद्रा नपर्ने र स्वभावमा चिडचिडापन आउने जस्ता समस्या देखिन्छन्।
निद्रा मात्र होइन, चियामा पाइने 'ट्यानिन' र क्याफिनले बालबालिकाको वृद्धि विकासमा पनि बाधा पुर्याउँछ। हड्डी बलियो बनाउन आवश्यक पर्ने क्याल्सियम सोस्ने प्रक्रियामा क्याफिनले अवरोध सिर्जना गर्छ। साथै, चिया–कफीमा मिसाइने चिनीले रगतमा ग्लुकोजको मात्रा अचानक बढाउँछ, जसले केही बेरका लागि बच्चालाई फुर्तिलो बनाए पनि पछि अचानक थकान र कमजोरी महसुस गराउँछ।
यसले गर्दा बालबालिकामा मोटोपन र खानपानमा असन्तुलन बढ्ने खतरा रहन्छ। विशेष गरी मुटु वा फोक्सोको समस्या भएका र औषधि सेवन गरिरहेका बालबालिकाका लागि क्याफिन झनै घातक मानिन्छ।
अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार १२ वर्षसम्मका बालबालिकालाई क्याफिनयुक्त कुनै पनि पदार्थ दिनु हुँदैन। अभिभावकले आफ्ना सन्तानको जिद पूरा गर्न दुधमा अलिकति चियापत्ती हालेर दिने गरे पनि त्यो सुरक्षित हुँदैन।
चिया–कफीको सट्टा बालबालिकालाई सादा दुध, मोही, नरिवलको पानी वा घरमै तयार पारिएको ताजा फलफूलको जुस दिनु स्वास्थ्यवर्धक हुन्छ। बालबालिकाको स्वस्थ शरीरका लागि उनीहरूलाई चिया–कफीको लतबाट टाढै राख्नु नै बुद्धिमानी हुन्छ।