अहिले जाडो मौसम बढ्दै जाँदा स्वास्थ्यका साथै छालाको सुरक्षामा पनि चुनौती थपिएको छ। जाडोमा चिसो हावा, कम आर्द्रता र तातो पानीको धेरै प्रयोगले गर्दा छालाको प्राकृतिक ओस हराउने र छाला फुट्ने समस्याले धेरैलाई सताउने गर्छ।
छाला रोग विशेषज्ञहरूका अनुसार सही स्याहार र खानपानमा ध्यान दिने हो भने जाडोमा पनि छालालाई स्वस्थ र चमकदार राख्न सकिन्छ। जाडोमा छालाको हेरचाहका लागि ‘क्लिन्जिङ’ पहिलो महत्वपूर्ण कदम भएको उनीहरूको भनाई छ।
जाडोमा धेरै फिज आउने वा कडा साबुनको प्रयोगले छालाको ओस सोस्ने भएकाले माइल्ड वा मोइस्चराइजिङ क्लिन्जर प्रयोग गर्नु उपयुक्त हुन्छ। अनुहार दिनमा दुई पटकभन्दा बढी नधुने र नुहाउँदा धेरै तातो पानीको सट्टा मनतातो पानी प्रयोग गर्न उनीहरूले सुझाव दिएका छन्।
छाला सुख्खा हुन नदिन मोइस्चराइजरको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ। नुहाउने बित्तिकै शरीरमा मोइस्चराइजर लगाउनाले छालामा सुरक्षाको पत्र बस्छ। जाडोमा लोसन भन्दा क्रिम वा ओइन्टमेन्टमा आधारित मोइस्चराइजर बढी प्रभावकारी हुन्छन्। निकै सुख्खा छाला भएकाहरूले दिनमा दुई देखि तीन पटकसम्म मोइस्चराइजर लगाउनु पर्छ।
बाहिरी स्याहारसँगै शरीरलाई भित्रैदेखि हाइड्रेटेड राख्न जाडोमा पनि दैनिक ७–८ गिलास पानी पिउनु जरुरी छ। यसका साथै नरिवल पानी, सुप, फलफूल, हरियो सागपात र ओमेगा–३ फ्याट्टी एसिडयुक्त ओखर र आलसको सेवनले छालाको चमक कायम राख्न मद्दत गर्छ।
जाडोमा घाम कम लाग्ने भए पनि सनस्क्रिनको प्रयोगलाई बेवास्ता गर्न नहुने विज्ञहरूको धारणा छ। सूर्यको अल्ट्राभायोलेट किरणले जाडोमा पनि छालालाई उत्तिकै क्षति पुर्याउन सक्ने भएकाले बाहिर निस्कँदा सनस्क्रिन लगाउनु पर्छ।
धेरै बेरसम्म हिटर वा ब्लोअरको अगाडि बस्दा हावाको ओस कम भई छाला थप सुख्खा हुने भएकाले यसतर्फ सचेत रहन आवश्यक छ।
यदि छालामा धेरै चिलाउने, रातो हुने वा छाला निकै फुट्ने समस्या देखिएमा घरेलु उपचारमा मात्र भर नपरी विशेषज्ञसँग सल्लाह लिनु नै उत्तम हुन्छ।