×

रक्सौल  । भारत–नेपाल सीमावर्ती सहर रक्सौलमा विगत चार दिनदेखि जारी आयकर विभाग (IT) र प्रवर्तन निर्देशनालय (ED) को संयुक्त ठूलो छापेमारी मंगलबार साँझ अन्त्यतर्फ उन्मुख देखिएको छ। निर्देशक तहकी एक महिला अधिकारीको नेतृत्वमा आएको टोलीले सहरका विभिन्न स्थानमा सघन जाँचपछि फिर्ता हुने क्रम सुरु गरेको छ। यद्यपि, केही अधिकारी तथा सुरक्षाकर्मीहरू अझै पनि रक्सौलका विभिन्न स्थानमा तैनाथ रहेको बताइएको छ।

सम्बन्धित निकायले हालसम्म बरामद सामग्री वा अनुसन्धानको औपचारिक विवरण सार्वजनिक गरेका छैनन्। तर, स्रोतका अनुसार ५० लाख भारु, लाखै नेपाली रुपैया र बिलबिजोग नरहेको सुनहरु तथा अनुसन्धानका क्रममा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको चर्चा समेत चलेको छ।

छापेमारीको केन्द्रबिन्दुका रूपमा रक्सौलको लक्ष्मीपुरस्थित हिरो एजेंसी र तनिष्क ज्वेलरी शोरूम रहेका थिए। मंगलबार साँझ शोरूमसँगै सञ्चालक मोहम्मद कलीमको आवासबाट पनि टोली बाहिरिएको जानकारी प्राप्त भएको छ। यसका साथै उनका आफन्त मोहम्मद वसीम र जावेदका परिसरहरूमा समेत कागजातहरूको गहन जाँच गरिएको थियो।

छापेमारीको दायरामा कलीमका चार्टर्ड एकाउन्टेन्ट तथा एकाउन्टेन्टहरू, विभिन्न कागजात, पासबुक, बैंक लकर, जग्गा–जमिन तथा अन्य सम्पत्तिहरू समेत परेका थिए। स्रोतका अनुसार यस प्रकरणका तार नेपाल र भारतका विभिन्न महानगरहरूसँग जोडिएको आशङ्का गरिएको छ। झारखण्ड, पटना र मुजफ्फरपुरबाट आएका आयकर विभागका टोलीहरूले रक्सौलका करिब एक दर्जन स्थानमा सघन जाँच गरेका थिए।

अनुसन्धानका क्रममा लेनदेन रजिस्टर, कम्प्युटर डाटा, सीसीटीभी फुटेज, मोबाइल डाटा समेत खोतलिएको बताइएको छ। केही तथ्यहरू दोहोरो नागरिकतासँग पनि सम्बन्धित हुन सक्ने आशङ्कापछि ईडी र आयकर विभागले अनुसन्धानको दायरा थप विस्तार गरेको स्रोतले जनाएको छ।

छापेमारीको अन्तिम दिन टोली आदापुरस्थित सञ्चालकको पैतृक गाउँ विशुनपुरवा समेत पुगेको थियो। टोली यसअघि सोमबारसम्म त्यहाँ रहे पनि मंगलबार पुनः पुगेपछि विभिन्न अड्कलबाजी सुरु भएको थियो। यसका अतिरिक्त बैंक रोड (ओल्ड आईओसी रोड), आश्रम रोड लगायत अन्य स्थानमा पनि घण्टौँसम्म जाँच चलेको थियो।

स्रोतका अनुसार उच्च ब्याज र दैनिक कलेक्सनको कारोबार गर्ने निजी फाइनान्स कम्पनीहरू पनि अनुसन्धानको रडारमा परेका छन्। सहरको मुख्य सडकस्थित एक आवासीय होटल तथा ग्रामीण क्षेत्रसम्म पुगेर समेत टोलीले जाँच गरेको बताइएको छ।

अनुसन्धानको मुख्य केन्द्रबिन्दु आयभन्दा बढी सम्पत्ति, आर्थिक अपराध, हवाला कारोबार, मनी एक्सचेञ्ज तथा सुन तस्करी जस्ता गम्भीर विषयहरू रहेको स्रोतको दाबी छ। यस प्रकरणका तार पटनासँग पनि जोडिएको चर्चा रहे पनि आधिकारिक पुष्टि भएको छैन।

किन व्यवसायीको घरबाटै सुरु भयो छापेमारी ?

यति ठूलो कारबाही व्यवसायीको घरबाटै किन सुरु भयो भन्ने प्रश्न अहिले रक्सौलका चोक–चौराहामा चर्चाको विषय बनेको छ। स्थानीयहरूबीच अनुसन्धान निकायहरू त्यति ठूलो व्यवसायीसम्म कसरी पुगे र कुन सुरागका आधारमा रक्सौलको इतिहासकै ठूलो छापेमारी सुरु भयो भन्ने जिज्ञासा तीव्र छ। व्यवसायीको तर्फबाट भने हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

छापेमारी टोली फर्किएपछि हिरो शोरूम अगाडि केही व्यक्ति तथा शुभेच्छुकहरूले आतिशबाजी गरेको दृश्य पनि चर्चामा आएको छ।

यद्यपि, टोली धेरै स्थानबाट फर्किसकेको भए पनि वरिष्ठ अधिकारीहरू अझै रक्सौलका विभिन्न होटलहरूमा बसेर काम गरिरहेका छन्। सम्भवतः पटना मुख्यालय पुगेपछि सम्पूर्ण कारबाहीबारे औपचारिक प्रेस ब्रिफिङ हुने अनुमान गरिएको छ।

चार दिनसम्म चलेको यस ठूलो छापेमारीले स्थानीय व्यवसायी र भू–माफियाहरूबीच ठूलो हलचल मच्चाएको छ।

Back to top