×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले इनरुवामा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा आफ्ना चुनावी एजेन्डा सार्वजनिक गर्दै जनतासँग प्रत्यक्ष संवाद गरेका छन् ।

इनरुवामा सञ्चालन गरिएको घरदैलो अभियानका क्रममा पन्तले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी तथा आधारभूत पूर्वाधार सुधारलाई आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे । घर–घरमा पुगेर मतदातासँग संवाद गर्दै उनले इनरुवालगायत ग्रामीण भेगका जनताले भोग्दै आएका समस्याको दीर्घकालीन समाधानका लागि संसद्मा बलियो आवाज उठाउने प्रतिबद्धता जनाए ।

मतदाता भेटघाटका क्रममा स्थानीयले शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच, युवाका लागि स्वदेशमै रोजगारीको अवसर, सुरक्षित खानेपानीको उपलब्धता तथा सडक, ढल, विद्युत् जस्ता आधारभूत पूर्वाधार विकाससम्बन्धी मागहरू राखेका थिए । उम्मेदवार पन्तले समस्याहरूलाई आफ्नो चुनावी एजेन्डामा समेटेर समाधानमुखी राजनीति गर्ने बताए ।

घरदैलो कार्यक्रमअघि इनरुवामा आयोजित कोणसभामा सयौँ स्थानीयवासी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । कोणसभा विजय साहको सभापतित्वमा सम्पन्न भएको थियो । सभाले विजय साहकै अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा राजु प्रसाद यादव, सचिवमा सन्तोष पटेल, सहसचिवमा अजय कुमार महतो र प्रितम कुमार महतो चयन भएका छन् ।

समितिका सदस्यहरूमा जटा शंकर पण्डित, रोमन पटेल, मोहन यादव, वीरेन्द्र प्रसाद यादव, अबेश राम, सद्दाम हुसेन, रञ्जित यादव, विजय होदा बनिया, दिलीप यादव, रामसुरै महतो, स्माइल मिया, अरुण यादव, राजन यादव, नितेश बनिया, शिवनाथ प्रसाद यादव, झोटी यादव, मोहन पटेल, सिकन्दर महतो, दिनेश साह, पर्मा यादव र रामायण दास रहेका छन् ।

कार्यक्रममा सन्तोष पटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण अमन आलमले गरेका थिए । साथै, उक्त वडाका सभापति रमेश चौरसियासहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Back to top