वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बहुदरमाई नगरपालिका–६ भौराटारमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोका क्रममा स्थानीय कृषकहरूले तरकारी खेतीका लागि भरपर्दो सिँचाइ व्यवस्था, समयमा मल उपलब्ध गराउने प्रभावकारी प्रणाली तथा उत्पादन भएको तरकारी सुरक्षित राख्न शीत भण्डार (कोल्ड स्टोर) को आवश्यकता औँल्याएका थिए । साथै वर्षा र नदीको पानीका कारण खेतीयोग्य जमिनमा हुने क्षति, मल अभाव र कृषि उत्पादनमा देखिएका व्यावहारिक समस्याबारे उम्मेदवार कानुको ध्यानाकर्षण गराइएको थियो ।
स्थानीयका गुनासा र सुझाव सुन्दै उम्मेदवार कानुले निर्वाचित भएपछि स्थानीय स्तरमै सिँचाइ सुविधा विस्तार, मल आपूर्ति प्रणालीलाई सहज र पारदर्शी बनाउने तथा कृषि पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे । कृषक–मैत्री नीति अवलम्बन गर्दै दीर्घकालीन समाधानमार्फत कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइने उनको भनाइ थियो ।
त्यसैगरी कानुले जेन–जी युवाहरूका लागि उच्च शिक्षा तथा कृषि शिक्षा स्थानीय स्तरमै उपलब्ध गराउने, बेरोजगार महिला तथा युवाहरूलाई प्राविधिक तथा सीपमूलक तालिम प्रदान गरी गाउँमै रोजगारी सिर्जना गरिने विषयलाई आफ्नो मुख्य प्राथमिकतामा राखिने बताए । स्थानीय महिलाहरूका लागि पशुपालनसम्बन्धी उन्नत सीप तालिम, स्वरोजगार प्रवर्द्धन तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पनि उनले जनाए ।
घरदैलो कार्यक्रमका क्रममा देखिएको जनउत्साह र व्यापक सहभागिताले भौराटार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनविश्वास बढ्दै गएको पार्टी नेताहरूको दाबी छ ।