×

भारतमा निपाह भाइरस (Nipah Virus) संक्रमण पुष्टि भएसँगै नेपालसहित छिमेकी मुलुकहरू सतर्क बन्न थालेका छन्। भारतको पश्चिम बंगाल राज्य अन्तर्गत उत्तर २४ परगना जिल्लास्थित एक निजी अस्पतालमा उपचाररत दुई जना बिरामीमा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ।

जनवरी १३, २०२६ मा भारतको पुणेमा रहेको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी ले परीक्षणपछि निपाह भाइरस पुष्टि गरेको हो। उक्त संक्रमणलाई विश्व स्वास्थ्य संगठन (WHO) ले पनि आधिकारिक रूपमा पुष्टि गर्दै सार्वजनिक गरेको छ। संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर भई भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ।

के हो निपाह भाइरस ?

निपाह भाइरस मानिस र जनावर दुवैमा सर्ने गम्भीर संक्रामक रोग हो। यो रोग पहिलोपटक सन् १९९८–९९ मा मलेसिया र सिंगापुरमा देखिएको थियो। सुँगुर पालनमा संलग्न मानिसहरूमा इन्सेफलाइटिस (मस्तिष्क सुन्निने) देखिएपछि अनुसन्धान गर्दा निपाह भाइरसको पहिचान भएको थियो।

कसरी सर्छ ?

निपाह भाइरस मुख्यतः फल खाने चमेरा (Fruit Bats) बाट सर्ने गर्दछ। चमेराले खाएका वा छोएका फलफूल, खुला रूपमा राखिएको ताडी (खजुरको रस) जस्ता खानेकुरा सेवन गर्दा संक्रमण फैलिन सक्छ। साथै संक्रमित व्यक्ति सिधा सम्पर्कमा आउँदा पनि भाइरस सर्न सक्ने जोखिम रहन्छ।

संक्रमण देखिन समय

संक्रमण भएपछि संक्रमण ४ देखी १४ दिनसम्म दिनभित्र लक्षण देखिन सक्ने चिकित्सकहरू बताउँछन्।

लक्षणहरू

निपाह भाइरस संक्रमित व्यक्तिमा सुरुमा सामान्य ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिन्छ। ज्वरो १०४–१०५ डिग्री फारेनहाइटसम्म पुग्न सक्छ। अवस्था गम्भीर हुँदै जाँदा चेतना गुम्ने, मानसिक सन्तुलन बिग्रने, मांशपेशी दुख्ने, बान्ता, पखाला र कहिलेकाहीँ मिर्गौलाको समस्या समेत देखिन सक्छ।

परीक्षण र उपचार

निपाह भाइरसको आशंका भएमा बिरामीको रगत, पिसाब, घाँटीको स्वाब लगायतका नमुना संकलन गरी Viral Transport Media (VTM) मा सुरक्षित राखी RT-PCR परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला (काठमाडौं) पठाइन्छ।

हालसम्म निपाह भाइरसको विशेष औषधि उपलब्ध छैन। उपचार मुख्यतः Supportive Care अर्थात् लक्षणका आधारमा उपचार र सघन नर्सिङ सेवामै केन्द्रित हुन्छ। केही अध्ययनमा रिबाभिरिन औषधिबाट सीमित लाभ देखिए पनि हाल यसलाई औपचारिक रूपमा सिफारिस गरिएको छैन।

बच्ने उपाय

साबुन पानीले हात नियमित सफा गर्ने, फलफूल राम्ररी धोएर मात्र खाने, खुला रूपमा राखिएको ताडी तथा खाद्य पदार्थ सेवन नगर्ने, भीडभाडमा मास्क प्रयोग गर्ने, स्वास्थ्यकर्मीले PPE (गाउन, मास्क, ग्लोभ्स, फेस शिल्ड) अनिवार्य प्रयोग गर्ने

स्वास्थ्य विज्ञहरूले भारतमा देखिएको संक्रमणलाई ध्यानमा राख्दै नेपालमा पनि उच्च सतर्कता अपनाउन र शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैमा आग्रह गरेका छन्।

Back to top