वीरगञ्ज । बलिउडका चर्चित अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले चेक बाउन्स सम्बन्धी मुद्दामा अन्तरिम जमानत प्रदान गरेको छ । सोमबार न्यायाधीश स्वर्णकांता शर्माको इजलासले उक्त आदेश जारी गर्दै यादवलाई मार्च १८ सम्म जेलबाहिर रहने अनुमति दिएको हो ।
अदालतको निर्णयसँगै यादव अब फेब्रुअरी १९ मा तय गरिएको आफ्नी भान्जीको विवाहमा सहभागी हुन पाउने छन् ।
यादवलाई जमानत स्वीकृत गर्न अदालतले कडा सर्तहरू राखेको छ । अदालतले दिउँसो ३ बजेसम्म उजुरीकर्ता एम/एस मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडको नाममा १.५ करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको थियो । यादवका तर्फबाट उक्त रकम जम्मा भएपछि अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो । यसका अतिरिक्त, अदालतले यादवलाई १ लाख रुपैयाँको व्यक्तिगत धरौटी र सोही बराबरको जमानत बुझाउने, देश छोड्न नपाउने तथा पासपोर्ट अदालतमा बुझाउने सर्त पनि लगाएको छ ।
सुनुवाइका क्रममा यादवका वकिलले मानवीय आधारमा जमानतको माग गरेका थिए । उनले अदालतलाई जानकारी गराएअनुसार यादवकी भान्जीको विवाह फेब्रुअरी १९ मा तय भएको छ र परिवारमा उनको उपस्थिति अत्यन्त आवश्यक छ । अदालतले होली पर्व र पारिवारिक अवस्थालाई ध्यानमा राख्दै यो राहत प्रदान गरेको हो । न्यायाधीश शर्माले ‘मानवीय आधार’ लाई महत्त्व दिँदै यादवलाई अस्थायी राहत दिएकी हुन् ।
यादवमाथिको मुद्दा सन् २०१० मा रिलिज भएको फिल्म ‘आता पता लापता’ को निर्माणसँग जोडिएको छ । उक्त फिल्म बनाउन यादवले एम/एस मुरली प्रोजेक्ट्सबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । तर, फिल्म आर्थिक रूपमा असफल भएपछि बक्यौता रकम ९ करोड पुगेको दाबी गरिएको छ । चेक बाउन्स भएपछि नेगोसिएबल इन्स्ट्रुमेन्ट्स एक्टअन्तर्गत मुद्दा दायर भएको थियो । लामो समयदेखि चल्दै आएको विवादले यादवलाई पटक-पटक कानुनी झन्झटमा पारेको छ ।
गत फेब्रुअरी ४ मा अदालतले यादवलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो । त्यसअनुसार फेब्रुअरी ५ मा उनी तिहाड जेल पुगेका थिए । करिब ११ दिन जेलमा बसेपछि सोमबार उनी रिहा भएका छन् । अदालतले यादवलाई मार्च १८ मा हुने अर्को सुनुवाइमा अनिवार्य रूपमा उपस्थित हुन आदेश दिएको छ । उनी फिजिकल वा भिडियो कन्फरेन्सबाट जोडिन सक्नेछन् ।
यसअघि सन् २०१३ मा झूटो शपथपत्र दायर गरेको मुद्दामा यादवलाई ४ दिन तिहाड जेलमा राखिएको थियो । राजपाल यादव बलिउडमा ‘कमेडी किंग’ को रूपमा परिचित छन् र उनी अनेक हिट फिल्महरूमा देखिएका छन् । घटनाले उनको पारिवारिक जीवनमा पनि प्रभाव पारेको छ ।
राजपाल यादवका भाइ चन्द्रपाल यादवले अदालतको निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै भनेका छन्, ‘हाम्रा राम्रा दिनहरू अझै आउन बाँकी छन् ।’ यसैबिच, अर्का बलिउडका अभिनेता सोनू सूद जस्ता सहकलाकारहरूले पनि यादवलाई समर्थन जनाएका छन् ।
यादवमाथिको मुद्दा अब मार्च १८ मा फेरि सुनुवाइ हुनेछ ।