वीरगञ्ज । बङ्गलादेश राष्ट्रिय पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज मङ्गलवार बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दै छन् । गत बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बीएनपीले दुई तिहाइभन्दा बढी सिट जितेपछि रहमानले सत्ताको नेतृत्व सम्हाल्न लागेका हुन् ।
देशको राजधानी ढाकास्थित संसद् भवनको दक्षिण प्लाजामा आयोजना गरिएको शपथ समारोहमा बिहान १० बजे सांसदहरूको र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ हुने कार्यक्रम छ । ठुलो सङ्ख्यामा अतिथिहरू सहभागी हुने भएपछि यस पटक शपथ ग्रहण राष्ट्रपति निवास (बंगभवन) को सट्टा संसद्को खुला क्षेत्रमा राखिएको हो ।
अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले शपथ समारोहका लागि नेपाल, भारत, चीन, पाकिस्तान, साउदी अरब, श्रीलङ्का, मालदिभ्स, भुटान, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया र ब्रुनाईका सरकार प्रमुख तथा प्रतिनिधिहरूलाई निम्तो दिएका छन् ।
नेपालको तर्फबाट परराष्ट्र मन्त्री बालानन्द शर्मा सोमबार नै ढाका पुगिसकेका छन् । भारतबाट लोकसभाका सभामुख ओम बिर्ला र पाकिस्तानबाट योजना मन्त्री असन इक्वा सहभागी हुने बताइएको छ ।
निर्वाचन पश्चात् २ सय ९९ सिटमध्ये गणना भएका २ सय ९७ मा बीएनपीले २ सय ९ सिट जितेको छ । ३ सय प्रत्यक्ष र ५० आरक्षित गरी कुल ३ सय ५० सदस्यीय संसद्मा बीएनपी गठबन्धनले २ सय १२ सिट हासिल गरेको छ भने जमात-ए-इस्लामी गठबन्धनले ७७ सिट जितेको छ । बङ्गलादेशको संसद्मा यस पटक यस पटक धेरै नयाँ अनुहार देखिने छन् । बीएनपीका १ सय ३२ र जमात-ए-इस्लामीका ५९ सांसद पहिलो पटक निर्वाचित भएका छन् ।
निर्वाचन विद्यार्थी आन्दोलनको परिणाम हो । डेढ वर्षअघि शेख हसिनाको सरकार विद्यार्थी विद्रोहका कारण ढलेको थियो । आन्दोलनमा १ हजार ४ सयभन्दा बढीको ज्यान गएको थियो । हसिना हाल भारतमा निर्वासित छन् र उनको अवामी लिगलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो । अन्तरिम सरकारले १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दै छ ।
६० वर्षीय तारिक रहमान बङ्गलादेशको राजनीतिमा ‘तारिक जिया’ नामले पनि चिनिन्छन् । उनी पूर्व राष्ट्रपति जिया उर रहमान र पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा हुन् । खालिदा जियाले ३५ वर्षसम्म (१९९१–१९९६ र २००१–२००६) प्रधानमन्त्रीको रूपमा शासन गरेकी थिइन् । रहमानले सन् २००१ मा सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । उनी बीएनपीको वरिष्ठ पदमा पुगे र खालिदा जियाको निधनपछि पार्टी अध्यक्ष बने ।
रहमानको राजनीतिक यात्रा चुनौतीपूर्ण रह्यो । अवामी लिगको शासनकालमा उनीमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र राजनीतिक हत्याको षड्यन्त्रका मुद्दा लागेका थिए । १७ महिनासम्म हिरासतमा बसेपछि उनी सन् २००८ मा उपचारका लागि लन्डन गए र करिब १७ वर्ष निर्वासनमा बसे । त्यहाँबाटै उनले पार्टीको रणनीति र सङ्गठन नियन्त्रणमा राखे । युवा मतदातालाई आकर्षित गर्दै उनले बीएनपीलाई मजबुत बनाए ।
आलोचकहरूले उनलाई ‘डार्क प्रिन्स’ भन्ने गरेका छन् । यद्यपि, समर्थकहरूले उनीलाई लोकतन्त्रको प्रतीक मान्छन् । रहमान कहिल्यै सांसद नभए पनि पारिवारिक विरासत, सङ्गठनात्मक क्षमता र करिश्माई नेतृत्वबाट उनी प्रधानमन्त्री बन्न सफल भएका छन् ।
बङ्गलादेशको राजनीति दशकौँदेखि शेख हसिना र खालिदा जियाका परिवारिक धारामा घुमिरहेको थियो । अब तारिक रहमानको नेतृत्वमा नयाँ युग सुरु हुँदै छ । रहमानले नयाँ मन्त्रिपरिषद् गठन गर्दै पद तथा गोपनीयताको शपथ लिनेछन् । यो जितले उनको रणनीतिक क्षमता प्रमाणित गरेको छ ।
बङ्गलादेशका लागि यो दिन ऐतिहासिक छ । विद्यार्थी आन्दोलनले हसिनालाई देश छाड्न बाध्य बनाएपछि पहिलो पटक नयाँ नेतृत्व उदाएको छ । हसिनाले निर्वाचनलाई ‘पूर्वनियोजित छल’ भनेको भएपनि रहमानको सरकारले स्थिरता र विकासको नयाँ मार्ग खोल्ने अपेक्षा गरिएको छ ।