वीरगञ्ज। नेपाली काँग्रेसले वरिष्ठ पत्रकार दीपेन्द्र चौहानलाई पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ ।
ललितपुरस्थित बीपी स्मृति भवनमा रहेको पार्टीको केन्द्रीय कार्यालयबाट माघ २९ गते जारी गरिएको नियुक्ति पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने तथा समानुपातिकतर्फको मतभार बढाउने उद्देश्यले प्रचार–प्रसारलाई थप प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउन चौहानलाई जिम्मेवारी दिइएको जनाइएको छ ।
काँग्रेसले पत्रकारिता क्षेत्रमा चौहानको लामो अनुभव, सक्रियता तथा सञ्चारमाध्यमसँगको समन्वय क्षमताले पार्टीको चुनावी अभियानलाई परिणाममुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे द्वारा हस्ताक्षरित नियुक्ति पत्र प्राप्त गरेपछि चौहानले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक र प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।