×

मुम्बई । बलिउडका चर्चित अभिनेता ऋतिक रोशन भ्रामक विज्ञापन गरेको आरोपमा कानुनी झमेलामा परेका छन्। राजस्थानको झालावाड जिल्ला उपभोक्ता अदालतले ‘माउन्टेन ड्यू’ कोल्ड ड्रिंकको विज्ञापनमार्फत उपभोक्तालाई गुमराहमा पारेको भन्दै ऋतिकसहित बहुराष्ट्रिय कम्पनी पेप्सिको र त्यसको वितरक वरुण वेभरेजलाई नोटिस जारी गरेको हो। 

अदालतले यो विषयमा एक महिनाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। यो विवादको जड माउन्टेन ड्यूको चर्चित ट्यागलाइन ‘डर के आगे जीत है’ (डरको अगाडि जित छ) सँग जोडिएको छ। 

अधिवक्ता गुरुचरण सिंहले दायर गरेको उजुरीमा विज्ञापनमा देखाइएका दाबीहरू पूर्णतः झुटा र भ्रामक भएको उल्लेख गरिएको छ। विज्ञापनमा ऋतिक रोशनले उक्त पेय पदार्थ पिएपछि असाधारण साहस र ऊर्जा प्राप्त गरेको देखाइन्छ, जसले गर्दा मानिसले असम्भव लाग्ने जोखिमपूर्ण कार्यहरू सजिलै गर्न सक्छन् भन्ने भान पर्छ। 

तर, उजुरीकर्ताले उक्त पेय पदार्थ पिएपछि आफूमा कुनै विशेष ऊर्जा वा साहस नबढेको र विज्ञापनले दाबी गरे जस्तो कुनै वैज्ञानिक आधार नभएको जिकिर गरेका छन्। उपभोक्ता संरक्षण ऐन २०१९ को धारा २(२८) अनुसार कुनै पनि उत्पादनको गुणस्तर, प्रकृति वा लाभका बारेमा गलत जानकारी दिनुलाई भ्रामक विज्ञापन मानिन्छ। 

उजुरीकर्ताले कम्पनी र ब्राण्ड एम्बेसेडर ऋतिक रोशनले मिलेर उपभोक्ताको विश्वासमाथि खेलवाड गरेको आरोप लगाएका छन्। अदालतले प्रारम्भिक छानबिनमा तथ्यहरू गम्भीर देखिएपछि यसलाई मुद्दाको रूपमा अगाडि बढाएको हो। अब अदालतले कम्पनीका दाबीहरू वैज्ञानिक रूपमा प्रमाणित छन् वा केवल ग्राहक आकर्षित गर्ने फन्डा मात्र हुन् भन्नेबारे अनुसन्धान गर्नेछ।

यस उजुरीमा सुनुवाइ गर्दै अदालतले १२ फेब्रुअरी २०२६ मा नोटिस जारी गर्ने निर्णय गरेको थियो। उपभोक्ता अदालतका सदस्य वीरेन्द्र सिंह रावतका अनुसार सबै पक्षले अब आफ्नो बचाउमा तर्क राख्नुपर्नेछ। 

Back to top