वीरगञ्ज । इरानका नयाँ सर्वोच्च नेताको रूपमा मोज्तबा खामेनीईको पहिलो आधिकारिक सन्देश इरानी टेलिभिजनमार्फत प्रसारण गरिएको छ । समाचार प्रस्तोताले उनको सन्देश टेलिभिजन च्यानलमा पढेर सुनाएका थिए ।
सन्देशमा खामेनीईले होमुज जलमार्गको नाकाबन्दी जारी राख्ने र मिनाब विद्यालयका बालबालिकासहित सहिद भएकाहरूको रगतको बदला लिने विषयमा जोड दिएका छन् । यसैबिच, इरानको टेलिभिजनमार्फत नेताको रूपमा उनको चयनका लागि विज्ञहरूको सभाले गरेको मतदानको नतिजाबारे पनि जानकारी गराइएको उनले बताएका छन् ।
अमेरिका र इजरायलसँग जारी युद्धको सन्दर्भ उल्लेख गर्दै खामेनीईले आक्रमणलाई निरन्तरता दिन आह्वान गरेका छन् । उनले भने, 'अन्य नयाँ मोर्चाहरू खोल्ने विषयमा विचार भइरहेको छ, जहाँ शत्रुसँग कम अनुभव छ ।' यसका साथै उनले यमनमा रहेका इरानका सहयोगीहरू, लेबनानको हिजबुल्लाह र इराकमा रहेको ‘रेजिस्टेन्स’ (प्रतिरोध समूह)को प्रशंसा गरेका छन् ।
सोमबार विज्ञहरूको सभाले उनलाई इरानको इस्लामिक गणतन्त्रको तेस्रो सर्वोच्च नेताका रूपमा प्रस्तुत गरेको थियो । इरानको न्यायपालिका, सुरक्षा तथा सैन्य संयन्त्रलगायत विभिन्न संस्थाहरूले उनको चयनको स्वागत गर्दै उनीप्रति निष्ठा व्यक्त गरेका छन् । खामेनीईको यो सन्देश उनको स्वास्थ्य अवस्थाबारे चलिरहेका विभिन्न अड्कलबाजीका बिच सार्वजनिक भएको हो ।
सलारियनका अनुसार उनी हाल सार्वजनिक रूपमा भाषण दिन सहज महसुस नगर्ने अवस्थामा रहेको बताइएको छ ।