इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा मिसाइल प्रहार भएपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल इराक छोड्न निर्देशन दिएको छ।
दूतावासले एक विशेष सूचना जारी गर्दै सुरक्षा अवस्था अत्यन्तै नाजुक रहेकोले ढिला नगरी देश छोड्न निर्देशन दिएको हो।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग तत्काल कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानसँगको सर्तहरू अझै चित्तबुझ्दो नभएको बताउँदै इरानको मुख्य तेल निर्यात केन्द्र खार्ग टापुमा मनोरञ्जनका लागि भए पनि थप केही पटक आक्रमण गर्न सक्ने विवादास्पद अभिव्यक्ति दिएका छन्।
क्षेत्रीय सुरक्षाका लागि ट्रम्पले बेलायतसहितका मित्र राष्ट्रहरूलाई हर्मुज जलमार्गमा आफ्ना जहाज पठाउन र तेल मार्गको सुरक्षामा सहभागी हुन ट्रुथ सोसलमार्फत् आह्वान गरेका छन्।
उता, इरानका विदेशमन्त्री अब्बास अराघचीले भने उक्त जलमार्ग आफ्ना शत्रुहरूका लागि मात्र बन्द गरिएको स्पष्ट पारेका छन्। इरानभित्रै भने खार्ग टापुमा भइरहेको आक्रमणले ९० प्रतिशत तेल निर्यात रोकिने र देश पूर्ण रूपमा ध्वस्त हुने भन्दै नागरिकहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।
यस्तै, संयुक्त अरब इमिरेट्सको फुजेराह बन्दरगाहमा ड्रोन आक्रमणपछि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन, जसले गर्दा पूरै पश्चिम एसिया युद्धको चपेटामा फस्ने जोखिम बढेको छ।