×

संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका निष्कर्षहरू सार्वजनिक गर्न आग्रह गरेका छन्।

उनले ‘भयानक क्षतिको न्याय हुनुपर्ने’ कुरामासमेत जोड दिए। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६१औं सत्रमा आयोजित एक जरुरी बहसमा भिडियो सन्देशमार्फत टर्कले प्राथमिक विद्यालयमा भएको बमबारीले ‘भयानक त्रास’ पैदा गरेको बताए। 

मिनाबको शजरेह तय्येबेह प्राथमिक विद्यालयमा भएको बमबारीले गहिरो त्रास जगाएको छ। बमबारी गरिएका कक्षाकोठाहरू र शोकमा डुबेका अभिभावकहरूको तस्विरले युद्धको सबैभन्दा ठूलो मूल्य कसले चुकाउँछ भन्ने स्पष्ट पारेको छ। देशहरूबीच जस्तोसुकै मतभेद भएपनि, विद्यालयका बालबालिकाहरूलाई मारेर ती समस्या समाधान हुँदैनन् भन्ने कुरामा आफूहरु सहमत हुनसक्ने उनको भनाई थियो। 

इरानमा द्वन्द्व अघि बढ्दै जाँदा, अमेरिकी र इजरायली आक्रमणहरूले बढ्दो रूपमा घना बस्ती भएका आवासीय क्षेत्रहरूमा प्रहार गरेका छन्। नागरिक पूर्वाधारहरु नष्ट गरिएको र परमाणु सुविधाहरुलाई निशाना बनाउनु बुझ्न नसकिने हदसम्मको लापरबाही भएको उनको भनाई थियो। साथै, मध्यपूर्व र खाडी क्षेत्रमा सैन्य तनाव खतरनाक स्तरमा पुगिरहेकोले यसको अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्। प्रत्यक्षरुपमा संलग्न देशहरुमा थप आक्रमण र नागरिक पीडा बढ्ने उच्च जोखिमसमेत रहेको उनको भनाई थियो।

Back to top