×

वीरगञ्ज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता भए पनि नभए पनि अमेरिका दुई वा तीन साताभित्र युद्धबाट बाहिरिने बताएका छन् । उनको अभिव्यक्तिले विश्व बजारमा तेलको मूल्यमा उल्लेखनीय हलचल ल्याएको छ र द्वन्द्वप्रति प्रशासनको बढ्दो अधैर्य देखाएको छ ।

ट्रम्पले मङ्गलवार राति ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी सम्झौता भए पनि नभए पनि बाहिरिनेछौँ, त्यो अप्रासङ्गिक छ । हामीले उनीहरूलाई ‘पत्थर युग’ मा पुर्‍यायौँ भने उनीहरूले आणविक हतियार बनाउन सक्ने छैनन् ।”

अभिव्यक्ति ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११८.३५ डलर पुगेको दिन आएको हो । युद्ध सुरु भएयता यो एक महिनाको उच्च वृद्धि हो । युद्धले विश्वव्यापी ऊर्जा सङ्कट निम्त्याएको छ र नयाँ मुद्रास्फीतिको खतरा बढाएको छ । अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन सन् २०२२ पछिको उच्च विन्दु चार डलर र डिजेल झन्डै ५.५० डलर पुगेको छ ।

पाँचौँ सातामा प्रवेश गरेको अमेरिका–इजरायल र इरानबिचको युद्धले अमेरिकी उपभोक्ता र व्यवसायमा गम्भीर असर पारिसकेको छ । नोभेम्बरको मध्यावधि निर्वाचनअघि जीवनयापन खर्च घटाउने ट्रम्प प्रशासनको लक्ष्यलाई पनि यो द्वन्द्वले चुनौती दिएको छ ।

ट्रम्पले युद्ध अन्त्य गर्नुअघि इरानका मुख्य संरचनाहरू ध्वस्त पार्ने बताएका छन् । उनी मुख्य लक्ष्य इरानलाई आणविक क्षमता प्राप्त गर्नबाट रोक्नु रहेको दोहोर्‍याउँछन् र शासन परिवर्तन आफ्नो प्राथमिक लक्ष्य नभएको स्पष्ट पार्छन् । तर उनका सहयोगीहरूले भने हालै शासन परिवर्तन भइसकेको दाबी गरेका छन् ।

अमेरिकी परराष्ट्र मन्त्री मार्को रुबियो ले इरानसँग प्रत्यक्ष वार्ताको सम्भावना रहेको बताएका छन् । “कुनै समय प्रत्यक्ष भेटघाट हुन सक्छ, हामी सधैँ खुला छौँ,” उनले भने ।

इरानका राष्ट्रपति मसउद पेजेस्कियान ले युद्ध अन्त्य गर्न आफ्नो देश तयार रहेको बताएका छन्, तर अमेरिकाले फेरि आक्रमण नगर्ने सुनिश्चितता चाहिन्छ ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले भने स्थल सेना पठाउने सम्भावना अस्वीकार गरेनन् र “अनिश्चितता नै रणनीति हो” भनेर टिप्पणी गरे ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले ट्रम्पले बुधवार राति ९ बजे राष्ट्रलाई सम्बोधन गर्दै इरानबारे महत्त्वपूर्ण जानकारी दिने बताएकी छन् ।

ट्रम्पले गत साता इरानलाई अप्रिल ६ सम्म सम्झौता गर्न समयसीमा दिएका थिए । तेहरानले अमेरिकी १५ बुँदे प्रस्ताव अस्वीकार गरे पनि तेस्रो पक्षमार्फत वार्ता जारी रहेको बताइएको छ । वासिङ्टनस्थित बिकन पोलिसी एडभाइजर्सका अनुसार हालसम्म कुनै ठोस प्रगति भएको छैन ।

युद्धका कारणहरू समयक्रममा बदलिँदै गएको देखिन्छ, जसले लगानीकर्ताहरूमा अन्योल बढाएको छ। पेन्टागनले भने पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति विस्तार गरिरहेको छ ।

द्वन्द्वको तीव्र आर्थिक प्रभाव र राजनीतिक दबाबबिच ट्रम्प प्रशासनले अब छिट्टै निर्णय लिनुपर्ने अवस्था आएको विश्लेषकहरूले बताएका छन् ।

Back to top