×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजनामा मितेरी पुल आसपास क्षेत्रमा बृहत् वृक्षारोपण, सरसफाइ तथा रोपिएका बिरुवाहरूको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पर्यावरण संरक्षण, हरियाली विस्तार र सहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमलाई विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिताले थप प्रभावकारी बनाएको सहभागीहरूले बताए ।

ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि राजु कार्की, प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेत रहेका थिए ।

कार्यक्रमअन्तर्गत मितेरी पुल क्षेत्र आसपास वृक्षारोपण, सरसफाइ अभियान तथा पहिले रोपिएका बिरुवाहरूको निरीक्षण र अवस्थाको मूल्याङ्कन गरिएको थियो । साथै बिरुवाको संरक्षण, नियमित हेरचाह र दीर्घकालीन संरक्षणमा विशेष जोर दिइएको आयोजकले जनाएको छ।

स्थानीय समुदाय, प्रहरी तथा विभिन्न सङ्घ–संस्थाहरूको संयुक्त प्रयासमा सम्पन्न अभियानले वातावरण संरक्षण र सामुदायिक सहकार्यको सकारात्मक सन्देश दिएको छ । आयोजकहरूले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

Back to top