वीरगञ्ज । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च भएपछि नेपालका हवाई सेवा प्रदायकहरू दबाबमा परेका छन् । सोही दबाबका कारण बुद्ध एयरले हवाई भाडा वृद्धि गर्नु बाध्यता बनेको जनाएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इन्धनको मूल्यमा भएको हालसम्मकै उच्च वृद्धिले हवाई सेवा सञ्चालनमा गम्भीर असर पारेको छ । सोही कारण प्रचलित नियमअनुसार भाडा समायोजन गर्नुपरेको जनाइएको छ ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार प्रतिकूल अवस्थामा संयतता अपनाउँदै न्यूनतम स्तरमै भाडा वृद्धि गरिएको हो । “हामीसँग भाडा वृद्धि गर्नुबाहेक अन्य विकल्प रहेन,” उनले भने ।
उनका अनुसार यसअघि हवाई सेवा सञ्चालन लागतको करिब ४० प्रतिशत इन्धनमा खर्च हुने गरेकोमा हाल मूल्यवृद्धिपछि खर्च बढेर झन्डै ५० प्रतिशत पुगेको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पनि इन्धन मूल्यवृद्धि अप्रत्याशित र अहिलेसम्मकै उच्च रहेको उल्लेख गर्दै यसको प्रत्यक्ष प्रभाव हवाई भाडामा परेको बताए ।
विज्ञप्तिमा अमेरिकी डलरको मूल्यवृद्धिले समेत जहाजका पार्टपुर्जा, मर्मत सम्भार, प्राविधिक जनशक्तिको तालिम लगायतका खर्च उल्लेखनीय रूपमा बढाएको उल्लेख गरिएको छ ।
यसैबिच, पश्चिम एसियाली द्वन्द्वकै कारण नेपालको पर्यटन क्षेत्रमा पनि प्रत्यक्ष असर देखिएको कम्पनीको भनाइ छ । विदेशी पर्यटकहरूले पूर्व बुकिङ गरेका टिकटहरू धमाधम रद्द गरिरहेको जनाइएको छ ।
यस्तै, भाडा समायोजनअन्तर्गत सिमरा–काठमाडौँ रुटमा हवाई भाडा बढेर करिब पाँच हजार रुपैयाँ पुगेको छ । यसअघि उक्त रुटमा ३८ सयदेखि ४५ सय रुपैयाँसम्म रहेको भाडा वृद्धि गरिएको हो ।
कम्पनीका अनुसार इन्धनको मूल्य स्थिर हुन अझै समय लाग्ने भएकाले तत्कालका लागि भाडा समायोजन अपरिहार्य रहेको छ ।
पर्यटन क्षेत्रले रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै बुद्ध एयरले निजी क्षेत्र र सरकारबिच सहकार्य आवश्यक रहेको औँल्याएको छ । साथै, नवनिर्वाचित सरकारसँग मिलेर हवाई सेवा तथा पर्यटन प्रवर्द्धनमा प्रतिबद्ध रहेको पनि कम्पनीले जनाएको छ ।