वीरगञ्ज । सङ्घीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भोली शुक्रवार वीरगञ्ज आउने भएका छन् । अर्थ मन्त्रालयका अनुसार मन्त्री वाग्ले शुक्रवार बिहानको जहाजबाट सिमरा विमानस्थल पुग्ने र त्यहाँबाट विभिन्न स्थानको अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ ।
उनको भ्रमणको मुख्य लक्ष्य वीरगञ्ज भन्सार कार्यालय मातहतको आइसीपी र सिर्सिया सुख्खा बन्दरगाहमा पुगेर अनुगमन गर्नु हुनेछ ।
भ्रमणका क्रममा उनले वीरगञ्ज क्षेत्रको व्यापारिक अवस्था, राजस्व सङ्कलनको वर्तमान स्थिति, सेवा प्रवाहमा देखिएका समस्या र निजी क्षेत्रले भोगिरहेका चुनौतीहरूबारे जानकारी लिने छन् ।
अर्थमन्त्री वाग्लेको भ्रमणको क्रममा उनी वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी र स्थानीय उद्योगी व्यवसायीसँग भेटघाट गरी राय सुझाव लिने कार्यक्रम रहेको छ ।
अर्थ मन्त्रालयले यस भ्रमणलाई व्यापारिक वातावरण सुधार र राजस्व सङ्कलन प्रक्रियामा पारदर्शिता र प्रभावकारिता बढाउने महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।