×

वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जले बिहीबारदेखि एकीकृत सेवा प्रणाली लागू गर्दै सेवा प्रवाहमा उल्लेखनीय सुधार गरेको छ । नयाँ प्रणालीसँगै पहिले जस्तै एउटै कामका लागि ३–४ वटा कोठा धाउनुपर्ने झन्झट अन्त्य भएको छ भने सेवाग्राहीले सहज, छिटो र पारदर्शी सेवा पाउन थालेका छन् ।

नयाँ व्यवस्थाअनुसार सवारी दर्ता, नवीकरण, बिमा, कर तिर्ने तथा चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा एउटै स्थानबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सेवा लिन आएका सर्वसाधारण परिवर्तनप्रति उत्साहित देखिएका छन् ।

सेवाग्राही आलोक कुमारले एकीकृत सेवा ‘नागरिकका लागि ठुलो राहत’ भएको टिप्पणी गर्दै, “यसका लागि बालेन नेतृत्वको सरकारलाई धन्यवाद दिन चाहन्छु,” भने । अर्का सेवाग्राही सुजित महतोले सेवा सुधारको प्रशंसा गर्दै भने, “एकीकृत सेवा राम्रो हो, तर लाइनमा भीड अझै छ । जनशक्ति थप गरेर सेवा व्यवस्थापन गर्न सरकारलाई अनुरोध छ ।”

कार्यालयका सहायक शाखा अधिकृत राम सुन्दर महतोका अनुसार अब सेवाग्राहीले उही दिन बायोमेट्रिक तथा लिखित परीक्षा दिन सक्नेछन् । भोलिपल्ट ट्रायल (प्रायोगिक परीक्षा) दिने व्यवस्था मिलाइएको छ । यसपछि सफल सेवाग्राहीले २४ घण्टाभित्रै चालक अनुमति पत्र (लाइसेन्स) हातमै पाउने छन् ।

सवारी बिमा, नवीकरण तथा लाइसेन्स प्रक्रियामा बिचौलियामार्फत हेरफेर हुने, अतिरिक्त शुल्क असुल्ने तथा सेवाग्राहीलाई झुक्क्याउने गतिविधि बढेपछि कार्यालयले बिचौलिया प्रयोग पूर्ण रूपमा निषेध गरिएको घोषणा गरेको छ । महतोका अनुसार, “सेवाग्राहीले कुनै समस्या आए सिधै कार्यालयमा सम्पर्क गर्नुस्, बिचौलिया प्रयोग नगर्नुहोस्,” कार्यालयले स्पष्ट रूपमा आग्रह गरेको छ ।

मधेस प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालयले अघि बढाएको सेवा सुधार अभियानको हिस्सा रूपमा लागू गरिएको यो एकीकृत सेवा मोडेलले पारदर्शिता बढाउने, झन्झट घटाउने र सरकारी सेवाप्रति जनविश्वास बलियो बनाउने अपेक्षा गरिएको छ । वीरगञ्जमा सुरु गरिएको मोडेल सफल भए अन्य जिल्लाका कार्यालयहरूमा पनि विस्तार गर्ने तयारी रहेको बताइएको छ ।

Back to top