×

वीरगञ्ज । हर्क साम्पाङले प्रतिनिधिसभाको पहिलो बैठकमै संसद् सञ्चालन शैली, विभेद, सुशासन र राष्ट्रिय नीतिका विषयमा कडा रूपमा आफ्नो धारणा प्रस्तुत गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद साम्पाङले बैठक समयमै सुरु नभएकोप्रति आपत्ति जनाउँदै आजको बैठक १६ मिनेट ५५ सेकेन्ड ढिला भएको उल्लेख गरे । “जनताले हामीलाई ढिला गर्न पठाएका होइनन्, प्रत्येक मिनेटको महत्त्व सदनले बुझ्नुपर्छ,” उनले भने । आगामी दिनमा बैठक सुरु हुनुभन्दा कम्तीमा पाँच मिनेटअघि उपस्थित हुन सबैलाई आग्रह गरे ।

संसद्भित्रै विभेद रहेको आरोप लगाउँदै उनले सत्तापक्ष र साना दलबिच बोल्ने समयमै असमानता भएको गुनासो गरे । “सत्तापक्षले ३०–४० मिनेट बोल्ने, साना दललाई ३–४ मिनेट मात्र दिइने अवस्था सुधार गर्नुपर्छ,” उनले भने ।

यस्तै, उनले सुशासनका लागि सबैभन्दा पहिले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको सम्पत्ति छानबिन गर्न माग गरे। “अरूलाई औँला उठाउनुभन्दा पहिले आफैँबाट सुरु गरौँ,” उनको भनाइ थियो ।

साम्पाङले अमेरिकी सहयोग परियोजना एमसिसी परियोजना खारेज गर्न पनि माग गरे । “देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र राष्ट्रिय हितलाई ध्यानमा राख्दै एमसिसी खारेज गर्नुपर्छ,” उनले बताए । साथै सीमाको सुरक्षा मजबुत बनाउन र आवश्यक परे सेना परिचालन गर्नुपर्ने धारणा राखे ।

भदौ २३ र २४ गतेका घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्दै उनले सामाजिक सञ्जाल (डिस्कोर्ड) मार्फत विद्यार्थीलाई आन्दोलनमा ल्याएर हिंसात्मक बनाइएको दाबी गरे । ती घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको जोड थियो ।

साम्पाङले शिक्षा प्रणालीलाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्ने, हप्तामा तीन दिन सैद्धान्तिक र बाँकी दिन व्यावहारिक शिक्षामा केन्द्रित हुनुपर्ने प्रस्ताव पनि अघि सारे । उनले कृषि समस्या समाधान नगरी देशको समग्र विकास सम्भव नभएको उल्लेख गर्दै “एक पालिका–एक उद्योग र एक घर–एक रोजगारी” नीति लागू गर्न आग्रह गरे ।

त्यसैगरी, प्राकृतिक स्रोत साधनको सदुपयोग, देशभर शान्ति–सुरक्षा कायम, खानेपानी र स्वास्थ्य सेवामा सुधार आवश्यक रहेको उनले बताए । सरकारका निर्णयहरू हतारमा नगर्न, प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढ्न र जनताका हित विपरीत निर्णयहरू सच्याउन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

Back to top