×

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको ४८ घण्टाको अल्टिमेटमको समयसीमा आज राति सकिँदै गर्दा पश्चिम एसिया युद्ध थप अनिश्चितता तर्फ अघि बढेको छ। 

अल्टिमेटमको अन्तिम घडीमा इरान र इजरायलबीच भीषण क्षेप्यास्त्र र हवाई आक्रमण सुरु भएको छ। आज बिहान इरानले मध्य इजरायललाई लक्षित गरी तीन चरणमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। 

तेल अभिभ लगायतका प्रमुख सहरहरूमा साइरन बजिरहेका छन् भने नागरिकहरूलाई सुरक्षित सेल्टरमा जान भनिएको छ । लगत्तै, अमेरिकी र इजरायली वायुसेनाले इरानको राजधानी तेहरान र आसपासका सैन्य संरचनामा बमबारी गरेका छन्। 

तेहरान नजिकैको इस्लाम शहरमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको भएको छ। यसअघि ह्वाइट हाउसबाट जारी सन्देशमा राष्ट्रपति ट्रम्पले इरानले हर्मुज जलमार्ग तत्काल नखोले कल्पना बाहिरको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। युद्ध चर्किएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलर नाघेको छ। 

इरानले विश्वको २५ प्रतिशत तेल ढुवानी हुने हर्मोज मार्ग बन्द गर्दा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का लाग्ने संकेत देखिएको छ। संयुक्त राष्ट्र संघले वार्ताका लागि अन्तिम अपिल गरे पनि दुवै पक्ष युद्धको मैदानमा आमनेसामने भएका छन्।

Back to top