वीरगञ्ज । सुनचाँदीलगायत बहुमूल्य धातुको कारोबारमा सरकारले कडाइ गरेको छ। आन्तरिक राजस्व विभाग ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली कार्यान्वयनका लागि व्यवसायीहरूलाई नयाँ निर्देशन जारी गरेको हो।
निर्देशनअनुसार एक दिनमा एक पटक वा पटक–पटक गरी एक लाख रुपैयाँ वा सो बराबरको विदेशी मुद्राभन्दा बढीको नगद कारोबार गर्ने ग्राहकको पहिचान खुलाउने र विवरण अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
विभागले विशेषगरी आकस्मिक (नियमित नभएका) कारोबार गर्ने ग्राहकलाई लक्षित गर्दै यस्तो व्यवस्था ल्याएको जनाएको छ। नगदमार्फत सुनचाँदी खरिद गर्ने ग्राहकहरूको विवरण अनिवार्य रूपमा संकलन गर्नुपर्ने उल्लेख गरिएको छ।
विभागका अनुसार चेक, क्यूआर, मोबाइल बैंकिङ वा अन्य बैंकिङ माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरूको विवरण बैंकिङ प्रणालीमै सुरक्षित हुने भएकाले नयाँ निर्देशन मुख्यतः नगद कारोबारमा केन्द्रित गरिएको हो।
यस व्यवस्थाले बहुमूल्य धातुको कारोबारलाई पारदर्शी बनाउने र सम्पत्ति शुद्धीकरण तथा अवैध आर्थिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।