×

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले यातायात क्षेत्र प्रभावित भएको भन्दै तत्काल मूल्य फिर्ता लिन वा सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।

बिहीबार जारी प्रेस विज्ञप्तिमा महासंघले पछिल्ला केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण डिजेल र पेट्रोलको मूल्य बढ्दै गएको उल्लेख गर्दै यसले यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालनमा प्रत्यक्ष असर पारेको जनाएको छ।

महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य बढ्दा त्यसअनुसार भाडा समायोजन नगरिँदा व्यवसायीहरू आर्थिक रूपमा मारमा परेका छन्।

महासंघले २०७९ सालदेखि लागू वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार मूल्य समायोजन हुनुपर्ने माग गर्दै बढ्दो लागतका कारण सेवा सञ्चालनमा समस्या आएको जनाएको छ। इन्धन खपत घटाउने र सेवा व्यवस्थापन प्रभावकारी बनाउने प्रयास भइरहे पनि खर्च अत्यधिक बढेकाले तत्काल समाधान आवश्यक रहेको महासंघको भनाइ छ।

साथै, नेपाल आयल निगममार्फत भइरहेको पटक–पटकको मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन र समस्या समाधानका लागि यथाशीघ्र निर्णय लिन महासंघले सरकारसँग आग्रह गरेको छ।

Back to top