रियल सोसिडाडले एट्लेटिको मड्रिडलाई पेनाल्टीमा हराउँदै कोपा डेल रे प्रतियोगिताको चौंथो उपाधि जितेको छ।
एट्लेटिकोले दुई पटक पछि परेपनि खेल बराबरी गर्दै अतिरिक्त समयमा पु¥यायो र त्यसपछि पेनाल्टीसम्म लग्यो। तर गोलकिपर उनाइ मारेरोले दुई वटा पेनाल्टी बचाउँदै आफ्नो टोलीलाई सन् २०२० पछि पहिलो उपाधि दिलाए।
सोसिडाडले खेल सुरु भएको मात्र १४ सेकेन्डमै गोल गर्दै फाइनल इतिहासकै सबैभन्दा छिटो गोलको कीर्तिमान बनायो। आन्देर बारेनेचेआले गोन्सालो गुएदेसको क्रसलाई हेड गर्दै जाली चुमाएका थिए।
१८औं मिनेटमा आदेमोला लुकमानले लो सट प्रहार गर्दै बराबरी गोल फर्काए। तर, पहिलो हाफको इन्जुरी समयमा, गोलकिपर हुआन मुस्सोले गुएदेसलाई पन्च गर्ने क्रममा फाउल गरेपछि पाएको पेनाल्टीलाई मिकेल ओयार्जाबालले गोलमा परिणत गर्दै सोसिडाडलाई फेरि अघि बढाए।
दोस्रो हाफमा एट्लेटिकोले धेरै आक्रमण ग¥यो र त्यसको फलस्वरूप जुलियन आल्भारेजले पेनाल्टी बक्स बाहिरबाट शानदार सट हानेर खेल बराबरीमा ल्याए।
अतिरिक्त समयमा दुवै टोलीले निर्णायक गोल गर्न सकेनन्। तर, पेनाल्टी सुटआउटमा सोसिडाडले संयमता देखायो र अन्तिममा पाब्लो मारिनको शक्तिशाली पेनाल्टी गोलपोस्टको माथिल्लो भागमा लाग्दै जालीमा छि¥यो र उपाधि सुनिश्चित ग¥यो।
ला लिगामा चौंथो स्थानमा रहेको एट्लेटिको मड्रिड, जसले शीर्ष स्थानको बार्सिलोना भन्दा २२ अंकले पछि छ, अब आफ्नो ध्यान च्याम्पियन्स लिगतर्फ केन्द्रित गर्नेछ। सेमिफाइनलमा उसले आर्सनलसँग खेल्नेछ। उक्त पहिलो लेगको खेल २९ अप्रिलमा हुनेछ।