नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको २ खेलको अभ्यास शृङ्खलाको अन्तिम खेल आज हुँदैछ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा आयोजना हुने खेल बिहान ९ बजे पछि सुरु हुनेछ।
शनिबारबाट नेपाल र युएईसँग विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न नेपाल आएको ओमानले अभ्यास खेल स्वरुप यो खेल खेल्न लागेको हो।
नेपाल ‘ए’ भने भर्खरै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडीलाई समेटेर तयार भएको छ। ओमानसँगको बुधबार भएको पहिलो खेलमा नेपाल ए ७० रनले पराजित भएको थियो।
नेपाल ए का माथिल्लो क्रमका ब्याटरहरु चलेको उक्त खेलमा मध्येक्रम र तल्लोक्रमका ब्याटरले निराशाजनक खेल खेलेका थिए।
उक्त खेलमा १८८ रनमा ३ विकेट गुमाएको नेपाल ‘ए’ ले थप २२ रन जोड्दा ७ विकेट गुमाएर खराब अन्त्य गर्यो।
नेपाल क्रिकेट संघ (क्यान) ले अनिलकुमार साहको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ। अभ्यास खेल भएकाले १४ जना खेलाडीलाई खेलमा मौका दिइने छ।