×

वीरगञ्ज । फिफा विश्वकपमा २८ वर्षपछि पुनरागमन गरेको स्कटल्यान्डले विजयी सुरुआत गरेको छ । समूह ‘सी’ अन्तर्गत अमेरिकाको बोस्टनस्थित रङ्गशालामा आइतबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले हाइटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

स्कटल्यान्डका लागि कप्तान जोन म्याकगिन (जोन मेग्गनी) ले खेलको २१औँ मिनेटमा निर्णायक गोल गरे । पहिलो हाफमै गरिएको उक्त गोल नै खेलको अन्तिम नतिजा सावित भयो । मिडफिल्डबाट अघि बढ्दै उनले गरेको सशक्त प्रहार हाइटीका गोलकिपरलाई छक्क्याउँदै जाल चुमेको थियो ।

खेलभर स्कटल्यान्डले बलमा पकड जमाउँदै केही थप अवसर सिर्जना गरेको थियो । दोस्रो हाफमा हाइटीले बराबरीका लागि आक्रामक प्रयास गरे पनि स्कटल्यान्डको रक्षापंक्तिले मजबुत प्रदर्शन गर्दै अग्रता जोगायो । हाइटीका फरवार्डले अन्तिम समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल स्कटल्यान्डकै पक्षमा टुङ्गियो ।

सन् १९९८ पछि पहिलो पटक विश्वकपमा सहभागिता जनाएको स्कटल्यान्डले यस जितसँगै समूह चरणमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । यता, हाइटी भने ५२ वर्षपछि विश्वकपमा फर्किएको हो । हाइटीले यसअघि सन् १९७४ मा विश्वकप खेलेको थियो ।

विश्वकप इतिहासमा स्कटल्यान्ड र हाइटीबीच यो पहिलो भेट हो । प्रतियोगिताको पहिलो खेलमै जित निकाल्दै स्कटल्यान्डले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ भने हाइटीलाई आगामी खेलमा जित निकाल्ने दबाब बढेको छ ।

समूह ‘सी’ अन्तर्गतका आगामी खेलहरूले दुवै टोलीको यात्रा तय गर्नेछन् ।

Back to top