×

वीरगञ्ज । बैंक, ब्रोकर र बिमासम्बन्धी अर्बौँ रुपैयाँको शङ्कास्पद कारोबार तथा सम्पत्ति शुद्धीकरणको आरोपमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र उनका व्यावसायिक साझेदारहरूसहित ८६ जनाविरुद्ध चार वटा मुद्दा दायर भएका छन् ।

विशेष अदालत, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा दर्ता भएका ती मुद्दामा करिब २७ अर्ब रुपैयाँभन्दा बढी बिगो भट्टका हकमा कायम गरिएको छ भने सुलभ अग्रवालका हकमा साढे २५ अर्बभन्दा बढी बिगो माग गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल धितोपत्र बोर्ड र राष्ट्र बैंकको सुपरिवेक्षण विभागको प्रतिवेदनका आधारमा संयुक्त अनुसन्धान गरी बिहीबार अभियोग पत्र दायर गरेका हुन् ।

प्रकरणको सुरुआत २०७९ भदौ–असोजतिर शङ्कर समूहअन्तर्गतको जगदम्बा स्टिल्सले मेगा इन्भेस्टमेन्ट बैंकबाट भट्टको सिद्धार्थ बैंक खातामा ५४ करोड ५० लाख रुपैयाँ पठाएपछि भएको थियो । उक्त रकम ललितपुरको सानेपास्थित ५४ आना जग्गाको बैनाबापत लिएको भट्टको दाबी छ ।

तर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले जगदम्बालाई लाभ पुग्ने गरी कर दर हेरफेर गरेको आरोप सार्वजनिक भएपछि उक्त लेनदेन शङ्कास्पद ठहरियो । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई छानबिन गर्न पत्राचार गरेपछि औपचारिक अनुसन्धान अघि बढेको थियो ।

अभियोजनकर्ताका अनुसार जगदम्बाले ‘वर्किङ क्यापिटल लोन’ को रकम कानुन विपरीत प्रयोग गर्दै भट्टलाई दिएको र उक्त रकम भट्टको व्यक्तिगत खाताबाट इन्फिनिटी होल्डिङ्स हुँदै हिमालयन रिइन्स्योरेन्समा लगानी गरिएको थियो ।

केही समयपछि भट्टले जगदम्बालाई ७५ करोड २६ लाख ३२ हजार रुपैयाँ फिर्ता पठाएका थिए । भट्टले बयानमा जग्गा खरिद प्रक्रिया रोकिएपछि बैनाबापतको रकम ब्याजसहित फिर्ता गरेको बताएका छन् । तर अनुसन्धानकर्ताहरूका अनुसार उक्त रकम जगदम्बा समूहकै परिवारका सदस्यहरूको खातामार्फत घुमाएर ‘राउन्ड ट्रिपिङ’ गरी भट्टको खातामा जम्मा गरिएको थियो ।

सिद्धार्थ बैंकको निरीक्षण प्रतिवेदनअनुसार ७५ करोडमध्ये ६७ करोड ९० लाख रुपैयाँ अग्रवाल परिवारका विभिन्न सदस्यका खाताबाट भट्टलाई पठाइएको थियो । बाँकी रकम भट्टकी पत्नी आयुष्मा नेपाल भट्ट र इन्फिनिटी होल्डिङ्सबाट गएको देखिएको छ । भट्टले भने उक्त रकमलाई ‘सापटी’ मात्र भनेका छन् ।

सेयर बजारमा कृत्रिम माग सिर्जना आरोप

काठमाडौँ जिल्ला अदालतमा दायर धितो पत्रसम्बन्धी मुद्दाअनुसार भट्टले २०८२ साउन ५ देखि चैत १ सम्म भृकुटी स्टक ब्रोकिङमार्फत ३ अर्ब ८० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर अग्रिम रकम नबुझाई खरिद गरेका थिए । कानुनअनुसार कम्तीमा २५ प्रतिशत अग्रिम भुक्तानी आवश्यक हुन्छ ।

सोही अवधिमा उनले ९३ करोड ५ लाख रुपैयाँको सेयर बिक्री गरे पनि अझै २ अर्ब ८९ करोड २० लाख रुपैयाँ बक्यौता रहेको अभियोगपत्रमा उल्लेख छ ।

अभियोजनका अनुसार यही उधारो कारोबारबाट सिर्जित कृत्रिम मागका कारण नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य ५ साउनमा १,४६१ रुपैयाँबाट १० भदौसम्म १,६८६ रुपैयाँ पुगेको थियो, जुन करिब साढे १५ प्रतिशत वृद्धि हो । यसमा भट्ट, भृकुटी स्टक ब्रोकिङ, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्ब र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबिच मिलेमतो भएको दाबी गरिएको छ ।

अदालतमा प्रारम्भिक सुनुवाइ सुरु

विशेष अदालतले भट्ट र अग्रवाललगायत ३९ जनाविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा प्रारम्भिक सुनुवाइ सुरु गरेको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा भट्टको बयान लिइँदै छ। बयान सकिएपछि उनीहरूलाई थुनामा राख्ने वा धरौटी/तारिखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

अनुसन्धानका क्रममा वार्षिक कारोबारबारे सोध्दा भट्टले “यकिन भन्न सक्दिनँ, तर वार्षिक आय करिब ३० करोड हुने गरेको छ” भनेका थिए । ७५ करोडभन्दा बढी रकमको स्रोतबारे सोधिँदा भने उनले “हाल खुलाउन सक्दिनँ” भन्ने जवाफ दिएका थिए ।

अभियोग पत्रहरूमा उल्लेख भएअनुसार मुख्य अभियुक्तहरूले आफू निर्दोष रहेको दाबी गर्दै दोष एकअर्कामाथि थोपरेका छन् । अदालतको आगामी निर्णयले यो बहुचर्चित वित्तीय प्रकरणको दिशा तय गर्नेछ ।

Back to top