×

पञ्जाब किंग्सले १९औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) मा अर्को कीर्तिमानी जित हासिल गरेको छ।

दिल्ली क्यापिटल्सको घरेलु मैदान अरुण जेट्ली क्रिकेट रंगशालामा शनिबार सम्पन्न दिनको पहिलो खेलमा पाहुना टोली पञ्जाब ६ विकेटले विजयी भएको हो।

सातौं खेलमा अपराजित यात्रा कायमै राख्ने क्रममा पञ्जाबले दिल्ली दिएको २६५ रनको लक्ष्य १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै आफ्नै कीर्तिमान तोडेको छ। 

पञ्जाबले आइपील इतिहासमा नै सर्वाधिक लक्ष्य पूरा गर्दै कीर्तिमान बनाएको छ। 

पञ्जाबले सन् २०२४ को संस्करणमा कोलकाता नाइट राइडर्सकाविरुद्ध आफैले बनाएको कीर्तिमान तोडेको हो। त्यस समय पञ्जावले २६२ रनको लक्ष्य पूरा गरेको थियो।

शनिबार भएको दिल्लीविरुद्धको खेलमा ऐतिहासिक जित दिलाउन ओपनर प्रभसिमरन सिंहले ७६ रनको अर्धशतकीय इनिङ खेले। उनले २६ बलको सामना गरेर ९ चौका र ५ छक्का प्रहार गरे। पहिलो विकेटका लागि प्रियाशं आर्यसँग ४१ बलमा १२६ रनको विस्फोटक साझेदारी गर्दै टोलीलाई जितको आधार दिलाए।

आइपिएल इतिहासमा पावर प्लेमा दोस्रो सर्वाधिक रन जोड्ने क्रममा उनीहरुले ११६ रन बनाएका थिए। प्रियाशं १७ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४३ रन बनाउँदै पेभेलियन फर्किए। कप्तान श्रेयश अय्यर ३६ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहे।

नेहाल बढेरा २५ तथा कुपर कोनली १७ रनमा आउट हुँदा शशाक सिंह १९ रनमा अविजित रहे। दिल्लीका लागि कुलदिप यादवले २ तथा अक्षर पटेल र विपराज निगमले समान १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ओपनर केएल राहुलको कीर्तिमानी शतकको सहयोगमा निर्धारित २० ओभरमा २ विकेट गुमाएर २६४ रनको योगफल तयार गरेको थियो। 

दिल्लीका लागि ओपनर राहुलले ६७  बलमा १६ चौका र ९ छक्काको सहयोगमा अविजित रहँदै १५२ रन जोडेका थिए।

आइपिएल इतिहासमा १५० रन पार गर्ने पहिलो ब्याटर बनेका राहुलले सर्वाधिक व्यक्तिगत रनको तेस्रो स्थानमा रहे। उनी अगाडी क्रिस गेल र ब्रेन्डम म्याकुलम रहेका छन्। पहिलो विकेट २८ रनमा गुमाएको दिल्लीका लागि राहुलले नितिश राणासँग मिलेर २२० रनको साझेदारी गर्दै टोलीलाई विशाल योगफलमा पुर्याएका थिए। 

नितिश ४४ बलमा ११ चौका र ४ छक्काको सहयोगमा ९१ रनमा आउट भए। ओपनर पथुम निशंका ११ रनमा आउट हुँदा डेबिड मिलर ३ रनमा अविजित रहे। 

पञ्जाबका लागि अर्शदिप सिंह र जेभियर ब्राटलिले समान १ विकेट लिए। पञ्जाब ७ खेलबाट १३ अंकका साथ शीर्ष स्थानमा यथावत रहँदा दिल्ली समान खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ।

Back to top