×

नेपालको दक्षिणी भागमा गर्मी बढ्न थालेको छ। अचानक बढेको गर्मीका कारण शरीरमा पानीको कमी हुने र घाँटी सुक्नुका साथै चक्कर लाग्न सक्छ। 

आँखा रातो हुन सक्छ वा पिसाब पहेँलो हुन सक्छ। यदि तपाईँ यस्ता समस्या भोग्दै हुनुहुन्छ भने यो तपाईँको स्वास्थ्यका लागि खतराको घण्टी हुन सक्छ।

शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। यस्ता प्रभावलाई डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमी भनिन्छ।

इन्डियन मेडिकल एसोसिएसन महाराष्ट्रका पूर्व अध्यक्ष डा. अविनाश भोन्डवेका अनुसार डिहाइड्रेसनका कारण अवस्था गम्भीर बन्न सक्छ। गर्मीमा लगातार पसिना आउने कारणले शरीरमा पानीको मात्रा मात्र कम हुँदैन, नुनको मात्रा पनि घट्छ।

एसीमा बस्दा पसिना आउँदैन भन्ने तपाईँलाई लाग्न सक्छ। तर हरसमय एसीमा बस्दा तपाईँलाई तिर्खा कम लाग्छ। यसले शरीरमा प्रतिकूल र दीर्घकालीन प्रभाव पार्न सक्ने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्।

बढ्दो तापक्रममा शरीरको राम्रोसँग हेरचाह गरिएन भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसैले स्वास्थ्य विशेषज्ञहरू आवश्यक हेरचाहमा जोड दिन्छन्।

डिहाइड्रेसन कहिले हुन्छ?

  • लामो समयसम्म कडा घाममा बस्दा हिट स्ट्रोक भई डिहाइड्रेसन हुन सक्छ।
  • यसका साथै समग्र तापक्रम बढी हुँदा पनि यो समस्या देखा पर्छ।
  • पखाला लाग्दा वा अन्य कुनै रोग लाग्दा पनि शरीरमा पानीको कमी हुन सक्छ।
  • धेरै मदिरा वा क्याफिनयुक्त पेय पदार्थ पिउँदा शरीरमा पानीको मात्रा घट्छ।
  • धेरै पिसाब लाग्ने औषधि सेवन गरिरहेको अवस्थामा पनि यस्तो हुन सक्छ।

girl-runner-dehydrated-during-summer

डिहाइड्रेसनका लक्षण आफैँ कसरी चिन्ने?

  • धेरै तिर्खा लागेमा।
  • पिसाब गाढा पहेँलो र कडा गन्धयुक्त भएमा।
  • सामान्यभन्दा कम पिसाब आएमा।
  • चक्कर लागेमा।
  • थकान महसुस भएमा।
  • मुख, ओठ र जिब्रो सुक्खा भएमा।
  • आँखा गढेको जस्तो देखिएमा।

यदि तपाईँ यस्ता लक्षणहरू अनुभव गर्दै हुनुहुन्छ भने तपाईँलाई डिहाइड्रेसन भएको हुन सक्छ। यस्तो अवस्थामा शरीरमा पानी र नुनको कमी पूरा गर्ने प्रयास गर्नुपर्छ र डाक्टरको सहयोग लिनुपर्छ।

शरीरमा पानीको कमी कहिले हुन्छ?

शरीरमा पानी कम भएको कसरी थाहा पाउने भन्ने धेरैलाई लाग्न सक्छ। यसको पहिलो सङ्केत हाम्रो पिसाबमा देखिन्छ। यदि पिसाब पहेँलो वा रातो रङको भयो भने शरीरमा पानीको कमी भएको बुझ्नुपर्छ।

यस सम्बन्धमा डा. अविनाश भोन्डवे भन्छन्, ‘घाममा लगातार हिँड्दा वा तातो भट्टी नजिक काम गर्दा शरीरमा पानी मात्र कम हुँदैन, सोडियम, पोटासियम, क्लोराइड र बाइकार्बोनेट जस्ता अन्य इलेक्ट्रोलाइट्सको मात्रा पनि घट्छ। यदि यो अवस्था लामो समयसम्म रह्यो भने शरीरमा म्याग्नेसियम र क्याल्सियमको मात्रा पनि कम हुन्छ।’

एक वयस्क व्यक्तिको शरीरमा ६० देखि ७० प्रतिशत पानी हुन्छ। डा. भोन्डवेका अनुसार पानीको यो स्तरमा धेरै अन्तर आयो भने हाम्रो शरीरको मेटाबोलिजम प्रभावित हुन्छ। अर्थात् खाएको कुरा पच्न सक्दैन। साथै व्यक्तिलाई मुर्छा पर्ने समस्या हुन सक्छ र सास फेर्न गाह्रो हुन सक्छ।

यो अवस्था लामो समयसम्म रह्यो भने व्यक्तिको श्वासप्रश्वास र दिमागमा असर परेर मृत्युसमेत हुन सक्ने डर रहने भोन्डवे बताउँछन्। पानीको कमीले छाला सुक्खा हुन थाल्ने पनि उनको भनाइ छ।

cb2sgsoc_food_625x300_14_May_25

ओआरएस (जीवनजल) पनि प्रभावकारी हुन सक्छ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार डिहाइड्रेसन कम पानी पिउनाले मात्र हुँदैन, पखाला लाग्दा पनि शरीरमा पानीको कमी हुन्छ। पखाला लाग्दा पानी र नुनको मात्रा घट्छ।

यसका साथै बान्ता हुँदा, पसिना आउँदा, पिसाब गर्दा र सास फेर्दा पनि शरीरबाट नुन कम हुने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ।

यस्तो अवस्थामा व्यक्तिलाई सुस्ती आउने, बेहोस हुने, आँखा गढ्ने र पानी पिउन मन नलाग्ने हुन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस्तो अवस्था डिहाइड्रेसनको गम्भीर रूप हुन सक्छ।

डाक्टरहरू ओआरएस (जीवनजल) पिउने सल्लाह दिन्छन्। ओआरएस प्याकेटमा सोडियम क्लोराइड, पोटासियम क्लोराइड, सोडियम साइट्रेट र ग्लुकोज हुन्छ।

‘पानी मात्र पिएर पुग्दैन’

मुम्बईस्थित जेजे अस्पतालका चिकित्सा अधिकारी डा. रेवत कानिन्दे भन्छन्, ‘यदि तपाईँ गर्मीमा डिहाइड्रेसनबाट बच्न चाहनुहुन्छ भने पानी मात्र पिएर पुग्दैन। पानीको साथमा अन्य तरल पदार्थको पनि सेवन गर्नुपर्छ।’

डा. रेवत अगाडि भन्छन्, ‘अहिलेको भीषण गर्मीमा प्रशस्त पानी पिउनु जरुरी छ। तर शरीरको तिर्खा मेटिँदैन। शरीरमा पानीको कमी हुन नदिन हामीले सर्बत, फलफूलको जुस, मोही र कोकम सर्बत जस्ता तरल पदार्थ पिउनुपर्छ।’

उखुको रस र मोहीमा थोरै नुन मिसाएर पिउँदा पनि शरीरलाई फाइदा पुग्ने उनी बताउँछन्। डा. रेवत भन्छन्, ‘गर्मीको समयमा शरीरमा पानीको उचित मात्रा कायम राख्नु महत्त्वपूर्ण हुन्छ। सामान्यतया हाम्रो शरीरको ७० प्रतिशत भाग पानी हुन्छ।’

शरीरलाई पानीको आवश्यकता पर्ने भए तापनि एकैपटक धेरै पानी पिउनु उचित नहुने विशेषज्ञहरू बताउँछन्। त्यसैले तिर्खा लाग्दा पानी पिउन नभुल्नु नै यसको एकमात्र समाधान भएको विशेषज्ञहरूको सल्लाह छ।

तिर्खा लाग्दा एकैपटक दुई वा तीन गिलास पानी पिउनबाट बच्नुपर्ने स्वास्थ्य विशेषज्ञहरू सुझाउँछन्। पानी बिस्तारै पिउनु राम्रो हुन्छ। एकैपटक धेरै पानी पिएमा पेटमा पर्ने दबाबका कारण भोक कम लाग्छ।

डा. कानिन्दे गर्मीयामको खानपानबारे पनि यस्तो सल्लाह दिन्छन्:

  • गर्मीमा बाहिरको चिल्लो खानेकुरा खानबाट बच्नुहोस्।
  • खाना खाएर मात्र घरबाट निस्कनुहोस् वा आफ्नो खाजा सँगै लैजानुहोस्।
  • अमिलो फलफूल भिटामिन ‘सी’ का लागि राम्रो मानिन्छ। खरबुजा, सुन्तला, मौसम, अङ्गूर, आँप र अनारलाई खानामा समावेश गर्नुपर्छ।
  • अमला, कोकम र काँचो आँपमा भिटामिन ‘सी’, सोडियम, पोटासियम र म्याग्नेसियम जस्ता तत्त्वहरू पनि पाइन्छन्।

बालबालिकाको शरीरमा पानी कम भएमा के गर्ने?

गर्मी ठूला मानिसहरूका लागि जति कष्टकर छ, बालबालिकाका लागि पनि त्यति नै समस्याग्रस्त छ। गर्मीमा विद्यालय बिदा हुने भएकाले बालबालिका घरमै बस्छन्। त्यसपछि गर्मीयाममा उनीहरू खेल्ने गर्छन्। यस्तो अवस्थामा उनीहरूलाई गर्मीले सताउने जोखिम पनि बढ्छ।

खेल्न गएपछि बालबालिकालाई आफ्नो तिर्खा र भोकको वास्ता हुँदैन। यो अनुभव तपाईँले पनि गर्नुभएको होला। त्यसपछि बाहिरको गर्मी र शरीरमा पानीको कमीले समस्या निम्त्याउन थाल्छ।

त्यसैले अभिभावकले आफ्ना बालबालिकाको विशेष ध्यान दिनुपर्ने फरीदाबादस्थित अमृता अस्पतालका डा. हेमन्त ताहिलरमानी बताउँछन्। बालबालिकामा हुने डिहाइड्रेसन रोक्न डा. हेमन्त ताहिलरमानी केही उपायहरू सुझाउँछन्:

  • अभिभावकले दिनभर बालबालिकाले पानी पिएको कुरामा ध्यान दिनुपर्छ। बालबालिका बाहिर खेल्न जाँदा पानीको बोतल सँगै पठाइदिनुपर्छ। उनीहरूलाई सिधै चर्को घाममा खेल्न पठाउनु हुँदैन।
  • उनीहरूको खानपानमा खरबुजा, काँक्रो, सुन्तला र स्ट्रबेरी जस्ता पानीयुक्त फलफूल तथा तरकारी समावेश गर्नुहोस्।
  • बिहान १० बजेदेखि बेलुका ४ बजेको बिचमा बालबालिकालाई घाममा खेल्न पठाउनु हुँदैन।
  • बालबालिकालाई खुकुलो र हल्का रङका लुगा लगाइदिनुपर्छ।
  • यदि बालबालिकाको शरीरमा पानी धेरै कम भएमा उनीहरूलाई तुरुन्तै ओआरएस (जीवनजल) दिनुपर्छ।

(बीबीसीका लागि कलेक्टिभ न्युजरुमद्वारा प्रकाशित)

Back to top