×

वीरगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वरुण बेभरेज (नेपाल) प्रालि पेप्सीकोलास्थित उत्पादित माउन्टेन ड्युको ब्याच नम्बर १६८ को बिक्री वितरणमा तत्काल रोक लगाएको छ ।

एक उपभोक्ताले सो पेय पदार्थ सेवन गरेपछि बान्ता भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभागको द्रुत प्रतिकार्य टोलीले उद्योगमा आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा उक्त ब्याचमा कैफियत देखिएको आशङ्का गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार ब्याच नं. १६८ (उत्पादन मिति : ०३/०४/२६) को २५० मिलिलिटर प्याकका उत्पादनमध्ये उद्योगको गोदाममा जम्मा एक क्रेट मात्र बाँकी रहेको र बाँकी उत्पादन डिलरहरूमार्फत बजारमा पठाइसकिएको पाइएको छ ।

विभागका निर्देशक डा. बालकुमारी शर्माले उद्योगलाई कच्चा पदार्थको विस्तृत विवरण र खाद्य स्वच्छतासम्बन्धी अभिलेख पाँच दिनभित्र पेस गर्न निर्देशन दिइएको बताए । प्रयोगशालाको परीक्षण प्रतिवेदन प्राप्त नभएसम्म उक्त ब्याचका सबै उत्पादन बिक्री वितरण नगर्न उद्योग र सम्बन्धित डिलरहरूलाई निर्देशन दिइएको छ । शङ्कास्पद ब्याचको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

“उपभोग्य मिति कायम रहेका कच्चा पदार्थ प्रयोग भएको देखिए पनि गुणस्तरको यकिन प्रयोगशाला प्रतिवेदन आएपछि मात्र हुन्छ,” डा. शर्माले भने ।

बजार अनुगमन : दुई फर्मलाई जरिवाना

यसैबिच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मूल्य पारदर्शिता कायम गर्न गरेको अनुगमनमा दुई व्यावसायिक फर्मलाई जरिवाना गरेको छ ।

विभागले बिहीबार उपत्यका र वीरगञ्जमा गरी ३४ वटा फर्मको अनुगमन गरेको थियो । काठमाडौँ महानगरपालिका सुनधारास्थित बोस सुज इन्डस्ट्रिज प्रालिलाई ५० हजार रुपैयाँ र टोखा नगरपालिका–धापासीस्थित केआर इन्टरप्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । दुवै फर्मले सामान बेच्दा बिल बीजक नदिएको पाइएको थियो ।

अनुगमनमा अन्य ३२ फर्मलाई सुधार गर्न निर्देशन दिइएको छ । विभागले वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म ‘मूल्यमा पारदर्शिता सप्ताह’ मनाइरहेको छ ।

विभागका निर्देशक नरहरि तिवारीले बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्न र उपभोक्ताको हित संरक्षण गर्न मूल्य पारदर्शिता अनिवार्य रहेको बताए ।

Back to top