वीरगञ्ज । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज लिने विश्वासको मतको विपक्षमा आफ्ना सांसदहरूलाई अनिवार्य मतदान गर्न ह्विप जारी गरेको छ ।
जनमत संसदीय दलको बिहीबार बसेको बैठकले मुख्यमन्त्रीले तोकेको समयमा सदनमा अनिवार्य उपस्थित भई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
संसदीय दलका नेता चन्दनकुमार सिंहले जारी गरेको ह्विप पत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ उपदफा १ (क) अनुसार यो निर्णय गरिएको उल्लेख छ ।
“मिति २०८३/०२/०१ गते मधेस प्रदेश सरकारको विश्वासको प्रस्तावको विपक्षमा अनिवार्य उपस्थित भई मतदान गर्न संसदीय दलको निर्णय बमोजिम ह्विप जारी गरिएको छ,” पत्रमा भनिएको छ ।
गत वैशाख २१ गते जनमत पार्टीले प्रदेश सरकारबाट औपचारिक रूपमा समर्थन फिर्ता लिएको थियो । तर, पार्टीका तर्फबाट सरकारमा रहेका अर्थमन्त्री महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले अझै राजीनामा दिएका छैनन् ।
दलभित्रको आन्तरिक विवादका कारण जनमतले महेश प्रसाद यादवलाई संसदीय दलको नेताबाट हटाएर चन्दनकुमार सिंहलाई जिम्मेवारी दिइसकेको छ ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा जनमत पार्टीका हाल १२ सांसद छन् । मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका छन् ।