×

वीरगञ्ज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग मिलेर राष्ट्रिय वैकल्पिक मोर्चा गठन गर्ने निर्णय गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले आश्चर्य व्यक्त गरेका छन्।

जसपा नेपालका नेताहरूका अनुसार जनमत पार्टी र जसपा नेपालबीच पार्टी एकताका लागि पटक–पटक छलफल भइरहेको अवस्थामा जनमतले अन्य दलहरूसँग मोर्चाबन्दी र एकताको पहल थालेको खबरले आफूहरूलाई अचम्ममा पारेको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच पछिल्लो समय पार्टी एकताबारे विभिन्न चरणमा छलफल भएको थियो। एकताको सम्भावनालाई अघि बढाउन जसपा नेपालले नेता रकम चेम्जोङको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो।

यता जनमत पार्टीले पनि असार १ गते नरेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो। तर त्यसलगत्तै जनमत पार्टीले तीन दलसँग मोर्चाबन्दी तथा एकताको पहल गर्ने निर्णय सार्वजनिक गरेपछि जसपा नेपालभित्र चासो र चर्चा बढेको छ।

जसपा नेपालका एक नेताले जनमत पार्टीले सार्वजनिक रूपमा मोर्चा र एकताको विषय अघि सारेको शैलीले दुई पार्टीबीच निर्माण हुँदै गएको विश्वासको वातावरणमा असर पुगेको बताए। उनका अनुसार जनमत र जसपाबीचको सम्भावित एकताले मधेसमा सकारात्मक सन्देश दिएको भए पनि पछिल्लो गतिविधिले अन्योल सिर्जना गरेको छ।

यता जनमत पार्टीका उपाध्यक्ष तथा वार्ता समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले भने जसपा नेपालसँगको एकता प्रक्रिया सञ्चारमाध्यममा आएजस्तो गतिमा अघि नबढेको दाबी गरे। उनले जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रलोपासँग मात्र नभई आवश्यकता अनुसार अन्य दलहरूसँग पनि संवाद र सहकार्य गर्न सक्ने बताए।

“जसपा नेपालसँग वार्ताको प्रक्रिया औपचारिक रूपमा सुरु नै भएको छैन, त्यसैले अन्त्य भएको पनि छैन,” चौधरीले भने, “आवश्यकता अनुसार पुनः छलफल हुन सक्छ।”

राजनीतिक विश्लेषकहरूका अनुसार जनमत पार्टीले विगतमा पनि विभिन्न दलहरूसँग कार्यगत एकता र मोर्चाबन्दीका प्रयास गरेको थियो। तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीसँग भएका सहकार्य तथा एकताका प्रयास दीर्घकालीन रूपमा सफल हुन सकेका थिएनन्।

यसैबीच जसपा नेपालका नेता शैलेन्द्र साहले जनमत पार्टीसँग एकताका विषयमा कुराकानी चलेको स्वीकार गर्दै हाल ती वार्ताहरू स्थगित रहेको बताए। “जसको जहाँ विचार मिल्छ, त्यहीँ सहकार्य र एकता हुन सक्छ,” उनले भने, “हाम्रो पार्टीले पनि विभिन्न दलहरूसँग सहकार्य तथा एकताबारे छलफल जारी राखेको छ।”

जनमत पार्टीले नयाँ राजनीतिक मोर्चा निर्माणको पहल थालेसँगै मधेस केन्द्रित दलहरूको भावी राजनीतिक समीकरणबारे पुनः चर्चा सुरु भएको छ।

Back to top