वीरगञ्ज । नेपाल राष्ट्र बैंकले सुरक्षात्मक विशेषताहरूलाई थप मजबुत बनाउँदै ५०० रुपैयाँ दरको नयाँ बैंकनोट आज (असार ३ गते) देखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ बैंकनोटमा साविककै आकार, रङ तथा डिजाइनलाई निरन्तरता दिइएको भए पनि आधुनिक सुरक्षा मापदण्डहरू थप गरिएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ।
नोटको अग्रभागमा हिमालको चित्रसहित ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ भने पछाडिको भागमा पाटेबाघको आकर्षक चित्र राखिएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटमा ३.५ मिलिमिटर चौडा सुरक्षा धागो प्रयोग गरिएको छ, जसले सीधा हेर्दा रातो र नोटलाई ढल्काएर हेर्दा हरियो रङ देखाउने विशेषता राख्छ। साथै दृष्टिविहीन व्यक्तिहरूले स्पर्शबाटै पहिचान गर्न सक्ने विशेष चिन्हसमेत समावेश गरिएको छ।
नेपाल राष्ट्र बैंकले यसअघि जारी गरिएका ५०० रुपैयाँ दरका बैंकनोटहरू पनि यथावत् कानुनी मान्यतासहित चलनचल्तीमा रहने स्पष्ट पारेको छ। नयाँ नोटहरू बैंक तथा वित्तीय संस्थामार्फत क्रमशः बजारमा वितरण गरिने जनाइएको छ।
राष्ट्र बैंकले नोटको सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले नयाँ बैंकनोट जारी गरिएको जनाएको छ। यसबाट नक्कली नोटको कारोबार नियन्त्रण गर्न तथा मुद्रा प्रणालीप्रति सर्वसाधारणको विश्वास अझ मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।