×

वीरगञ्ज । तराई–मधेस क्षेत्रमा आज विवाहित महिलाहरू वट सावित्री पर्व मनाउँदै छन् ।

ज्येष्ठ कृष्णपक्षको अमावस्याका दिन तराई–मधेसका नवविवाहित र विवाहित महिलाहरू वर र पीपलको श्रद्धा भक्तिपूर्वक पूजा आराधनाका साथ श्रीमान्को दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वट सावित्री पर्व मनाउँदै छन् ।

वट वृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्वमा आज बिहानैदेखि वरपीपल भएका स्थानमा चहलपहल बढेको छ । नयाँ वस्त्र लगाएका महिला सामूहिक गीत गाउँदै हर्षपूर्वक यो पर्व मनाउँदै छन् ।

पौराणिक कथाअनुसार सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा तराई–मधेसका महिलाहरूले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन् ।

जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) को फेदमा व्रतालु महिलाहरूले सामूहिक रूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन् । व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।

सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा हो । वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजा आराधना र समापन एकै ठाउँ वरको रुखको फेदमा गरिन्छ ।

नयाँ परिधानमा सजिएर वट वृक्ष परिसर सरसफाइ गर्नेदेखि सावित्री कथा वाचन र श्रवण गर्ने परम्परा पनि छ । साथी सङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वट सावित्री कथा सुनेर मनाइने यो पर्व महिलाहरूका लागि भेटघाट, हँसीमजाक र घरायसी दुःखसुख एक अर्कालाई सुनाउने अवसरसमेत हुने गरेको व्रतालुहरू बताउँछन् ।

तराई–मधेसमा केही दशक अघिसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने गरेको यो पर्व हिजोआज सबै जातजातिका महिलाले मनाउन थालेका छन् ।

Back to top