×

वीरगञ्ज । वीरगञ्जसँग सिमाना जोडिएको भारतीय सहर रक्सौल मा भारतीय रिजर्भ बैंक (आरबीआइ) ले विदेशी मुद्रा विनिमय (फरेक्स एक्सचेन्ज) काउन्टर सञ्चालनमा ल्याउने भएको छ ।

नेपाल–भारत आवतजावत गर्ने नेपाली तथा भारतीय नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले रक्सौलका दुई बैंक शाखामा उक्त काउन्टर स्थापना गरिएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, रक्सौलस्थित स्टेट बैंक अफ इन्डिया (एसबिआइ) को मुख्य सडकमा रहेको शाखा तथा सोना हल नजिक रहेको एचडीएफसी बैंक शाखामा विदेशी मुद्रा विनिमय काउन्टर सञ्चालन गरिनेछ । भारतीय रिजर्भ बैंकका क्षेत्रीय निर्देशक अर्जुन कुमार अरविन्दले सोमबार बिहान १० बजे दुवै काउन्टरको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

एसबीआई स्रोतका अनुसार प्रारम्भिक चरणमा अमेरिकी डलर सटही सुविधा मात्र उपलब्ध गराइनेछ । आगामी दिनमा आवश्यकताअनुसार अन्य विदेशी मुद्रासमेत सटही सेवामा समावेश गरिने अपेक्षा गरिएको छ ।

रक्सौल हुँदै दैनिक हजारौँ नेपाली किनमेल, अध्ययन, रोजगारी, उपचार, पारिवारिक काम तथा भारतका विभिन्न सहरसम्म रेल र अन्य यातायातका माध्यमबाट यात्रा गर्ने गर्दछन् । त्यस्तै भारतीय नागरिकहरू पनि रक्सौल नाका हुँदै वीरगञ्जसहित नेपालका विभिन्न स्थानमा किनमेल, भ्रमण तथा अन्य प्रयोजनका लागि आउने गरेका छन् । यस्तो अवस्थामा औपचारिक मुद्रा विनिमय केन्द्र सञ्चालनमा आउनु दुवै देशका सर्वसाधारणका लागि महत्त्वपूर्ण मानिएको छ ।

यसअघि रक्सौल रेल्वे ढालाअगाडि अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका निजी एक्सचेन्ज काउन्टरहरूले सर्वसाधारणलाई ठगी गर्ने, कम दरमा सटही गर्ने तथा नक्कली नोट दिने जस्ता गतिविधि गर्ने गरेको गुनासो आउने गरेको थियो । पछिल्लो समय रक्सौल प्रशासनले यस्ता अवैध मुद्रा कारोबारमाथि कडाइ गरेपछि सर्वसाधारणलाई वैधानिक रूपमा मुद्रा सटही गर्न कठिनाइ भइरहेको थियो ।

सोही समस्यालाई समाधान गर्दै भारत सरकारले बैङ्कमार्फत व्यवस्थित विदेशी मुद्रा विनिमय सेवा सञ्चालनमा ल्याउन लागेको हो । यसबाट नेपाल–भारत सीमावर्ती व्यापार, पर्यटन तथा आवतजावत थप सहज हुने विश्वास गरिएको छ ।

Back to top