वीरगञ्ज । झापाको दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पीताम्बर खड्का मृत अवस्थामा फेला परेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा केही व्यक्तिहरूको तस्बिर सार्वजनिक गर्दै भावुक स्ट्याटस लेखेको केही समयमै उनी आफ्नै घरभित्र झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
खड्का ग्लोबल आइएमी बैंकको विराटनगर शाखामा कार्यरत थिए । प्रहरीका अनुसार उनले फेसबुकमा दीपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको सामूहिक तस्बिर पोस्ट गर्दै उनीहरूकै कारण आफू चरम निर्णय लिन बाध्य भएको आशय व्यक्त गरेका थिए ।
सुरेन्द्र रेग्मी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् भने सुमन पोखरेल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसिइओ) रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार सोमबार साँझ करिब ५ बजेतिर खड्का आफ्नै घरको भुईँ तलाको कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका हुन् । मृतकका बुवा महेश खड्काले छोरालाई उक्त अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहालका अनुसार शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । प्रहरीले फेसबुक पोस्ट, व्यक्तिगत अवस्था तथा घटनाको वास्तविक कारणबारे थप गहन अनुसन्धान भइरहेको जनाएको छ ।