×

वीरगञ्ज । नर्वेको राजधानी ओस्लोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेश मन्त्रालयका अधिकारीहरूलाई मानवअधिकार र प्रेस स्वतन्त्रताको विषयमा ‘कठिन प्रश्न’ सोधेर चर्चामा आएकी नर्वेली पत्रकार हेला लेंगका सामाजिक सञ्जाल खाताहरू निलम्बित भएका छन् ।

पत्रकार लेंग आफैँले यसको पुष्टि गर्दै आफ्नो फेसबुक र इन्स्टाग्राम खाताहरू बन्द गरिएको जानकारी दिएकी हुन् । खाता निलम्बन हुनुअघि उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै यसलाई ‘प्रेस स्वतन्त्रताका लागि चुकाउनुपरेको सानो मूल्य’ भनेकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘यदि तपाईँ मलाई इन्स्टाग्राम वा फेसबुकमा सम्पर्क गर्न खोज्दै हुनुहुन्छ भने, म जानकारी गराउन चाहन्छु कि मेरा दुवै खाताहरू निलम्बित गरिएका छन् । म सकेसम्म धेरै भारतीयहरूलाई जवाफ दिन चाहन्थेँ, तर अब मेरा जवाफहरू ढिलाइ हुनेछन् । मलाई आशा छ कि मैले मेरा खाताहरू फिर्ता पाउनेछु ।’

उनले दिनभरि इन्स्टाग्राममा लग-इन गर्न समस्या भइरहेको र पहिले कहिल्यै यस्तो अनुभव नगरेको पनि उल्लेख गरेकी थिइन् ।

कसरी सुरु भयो विवाद?

घटनाको सुरुवात प्रधानमन्त्री नरेन्द्र मोदीको नर्वे भ्रमणका क्रममा भएको थियो । प्रधानमन्त्री मोदी नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरीसँग भेटेर जाने क्रममा पत्रकार लेंगले उनलाई प्रश्न सोध्ने प्रयास गरेकी थिइन् । तर, प्रधानमन्त्री मोदीले उनको प्रश्नको कुनै जवाफ नदिई अगाडि बढेका थिए ।

त्यस लगत्तै ओस्लोमै आयोजना गरिएको भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा पत्रकार लेंग र भारतीय अधिकारीहरूबिच चर्को बहस भएको थियो । पत्रकार लेंगले विदेश मन्त्रालयलाई सिधा प्रश्न गर्दै सोधेकी थिइन्, ‘भारत र नर्वेले एक अर्कासँग बलियो साझेदारी निर्माण गरिरहेका छन् । तर हामीले तपाईँलाई किन विश्वास गर्ने? के तपाईँ आफ्नो देशमा मानवअधिकार उल्लङ्घन रोक्ने वाचा गर्नुहुन्छ? तपाईँको प्रधानमन्त्रीले कहिलेदेखि कठिन प्रश्नहरूको जवाफ दिन थाल्नुहुन्छ?’

पत्रकार र भारतीय अधिकारीबिच चर्को भनाभन

लेंगको प्रश्न सुनेपछि विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जवाफ दिने बताए पनि पत्रकारले तत्काल र सिधा जवाफको माग गरेकी थिइन् ।

त्यसपछि भारतको विदेश मन्त्रालयका सचिव (पश्चिम) सीबी जर्जले प्रतिरक्षात्मक शैलीमा जवाफ दिँदै भारत करिब पाँच हजार वर्ष पुरानो एक प्राचीन सभ्यता भएको बताउँदै आफूहरूले शून्यको आविष्कार गरेको, योगको आविष्कार गरेको बताएका थिए ।

जर्जले प्राचीन सभ्यताको कुरा गरिरहेका बेला पत्रकारले उनलाई बिचमै रोक्दै मानवअधिकार र प्रधानमन्त्रीले प्रश्नको सामना नगरेको विषयमा सिधा जवाफ मागेकी थिइन् । त्यसपछि रुष्ट बनेका जर्जले ‘यो मेरो पत्रकार सम्मेलन हो । तपाईँले प्रश्न सोध्नुभएको छ । अब तपाईँसँग मेरो उत्तर सुन्न धैर्य हुनुपर्छ,’ भन्ने जवाफ फर्काएका थिए ।

जर्जले भारतप्रति विश्वको विश्वास रहेको दाबी गर्दै भने, ‘जब सम्पूर्ण विश्व कोभिड महामारीसँग लडिरहेको थियो, हामीले १५० भन्दा बढी देशहरूलाई खोप र औषधिहरू प्रदान गर्‍यौँ । विश्वले हामीमाथि विश्वास व्यक्त गर्‍यो। यो नै विश्वास हो ।’ उनले रुस-युक्रेन युद्ध जस्तो कठिन परिस्थितिमा पनि भारतले जी-२० शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको उदाहरण दिएका थिए ।

तर, भारतीय अधिकारीले आफ्नो प्रश्नलाई घुमाउन खोजेको भन्दै असन्तुष्टि जनाउँदै पत्रकार लेंग अधिकारीले जवाफ दिइरहेकै बेला पत्रकार सम्मेलनबाट बाहिरिएकी थिइन् ।

भारतमा व्यापक राजनीतिक तरङ्ग

घटनाले अन्तर्राष्ट्रिय मिडियामा मात्र नभई भारतभित्रै पनि व्यापक राजनीतिक बहस सिर्जना गरेको छ । विशेषगरी, भारतीय प्रधानमन्त्रीले विगत १० वर्षदेखि खुल्ला पत्रकार सम्मेलन नगरेको भन्दै आलोचना गर्दै आएका विपक्षी दलहरूले यस घटनालाई प्रमुखताका साथ उठाएका छन् ।

लोकसभाका विपक्षी नेता राहुल गान्धी र तृणमूल कांग्रेसकी नेतृ महुआ मोइत्रा लगायतले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन् । विपक्षी नेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा भारतीय अधिकारीहरूले प्रेसको सामना गर्न नसकेको र उल्टै पत्रकारको आवाज दबाउन सामाजिक सञ्जालमा रिपोर्टिङ गराएर खाता निलम्बन गराएको आरोप लगाएका छन् ।

पछिल्लो समय विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारतको स्तर खस्किएको र पत्रकारहरूमाथि सेन्सरसिप बढेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले समेत भारतको आलोचना गर्दै आएका छन् । यसै पृष्ठभूमिमा नर्वेली पत्रकारमाथि भएको साइबर एक्सन (खाता निलम्बन) ले भारतको प्रेस स्वतन्त्रता र लोकतान्त्रिक छविमाथि थप प्रश्न खडा गरेको छ ।

Back to top