आधुनिक कारहरू अब केवल यातायातका साधन मात्र रहेनन्, यी पाङ्ग्रा गुड्ने कम्प्युटर जस्तै बनेका छन् ।
यस्तो पाङ्ग्रा गुड्ने कम्प्युटरले चालकको अति गोप्य जानकारी संकलन गरिरहेका छन्। पछिल्लो समय कार निर्माता कम्पनीहरूले चालकको अवस्थिति, गाडी चलाउने शैली, सिट बेल्टको प्रयोग र अनुहारको हाउभाउ समेत ट्र्याक गर्ने गरेको पाइएको छ ।
कतिपय गाडीमा जडान गरिएका क्यामेरा र सेन्सरले चालकको तौल, उमेर, जाति र स्वास्थ्य अवस्था जस्ता निजी विवरणहरू समेत संकलन गरेर कम्पनीहरूलाई पठाउने गरेका छन्।
'मोजिला' फाउन्डेसनले गरेको एक अध्ययन अनुसार, गोपनीयताका हिसाबले कारहरू संसारकै सबैभन्दा खराब उत्पादनको सूचीमा परेका छन्। संकलित यस्ता तथ्याङ्कहरू कार निर्माताले बीमा कम्पनीहरूलाई बिक्री गर्ने गरेका छन्, जसका कारण धेरै चालकहरूको बीमा शुल्क उल्लेख्य रूपमा वृद्धि भएको पाइएको छ।
अमेरिकामा लागू हुन लागेको नयाँ कानुनले मापसे गरेर गाडी चलाउनेलाई रोक्न इन्फ्रारेड क्यामेरा अनिवार्य गर्ने भएपछि चालकको जैविक विवरण झन् बढी जोखिममा पर्ने देखिएको छ।
विज्ञहरूका अनुसार कार कम्पनीहरूले सुरक्षा र सुविधाको बहानामा ठूलो 'डाटा साम्राज्य' खडा गरिरहेका छन्। यसबाट बच्न चालकहरूले गाडीको इन्फोटेनमेन्ट सिस्टम र मोबाइल एपमा रहेका गोपनीयता सेटिङहरू जाँच गर्नुपर्ने, अनावश्यक एपहरू कनेक्ट नगर्ने र बीमा कम्पनीका 'ट्र्याकिङ' प्रोग्रामहरूमा आबद्ध हुनुअघि सचेत हुनुपर्ने सुझाव दिइएको छ।
यद्यपि, बलियो कानुनको अभावमा प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न अझै ठूलो चुनौती रहेको अध्ययनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।