×

वीरगञ्ज । नारायणी अस्पताल फेरि विवादमा तानिएको छ । अस्पतालभित्र सक्रिय दलाल समूहले बिरामीलाई बाहिरी मेडिकल पसलमा पठाएर कमिसन खाने गरेको आरोप सार्वजनिक भएपछि सेवाग्राही तथा स्थानीय आक्रोशित बनेका छन् ।

पीडित तथा सेवाग्राहीहरूको गुनासो अनुसार अस्पताल परिसरमा केही एम्बुलेन्स चालक, बिचौलिया र बाहिरी औषधि पसलबिच ‘सेटिङ’ हुने गरेको छ । बिरामी अस्पताल आई पुग्नासाथ निश्चित मेडिकल पसलमा पठाउने, महँगो औषधि किन्न दबाब दिने तथा त्यसबापत कमिसन लिने गरिएको आरोप छ ।

विशेषगरी इमर्जेन्सी वार्ड वरिपरि यस्तो गतिविधि बढी हुने गरेको सेवाग्राहीहरूको भनाइ छ । आपत्कालीन अवस्थामा आएका बिरामीका आफन्तलाई अलमल्याएर बाहिरी मेडिकल तथा निजी सेवातर्फ मोड्ने काम भइरहेको आरोप लगाइएको छ ।

स्थानीयका अनुसार अस्पताल परिसरमा लामो समयदेखि सक्रिय कथित दलाली सञ्जालले बिरामीलाई कुन मेडिकलमा पठाउने, कुन एम्बुलेन्स प्रयोग गराउने भन्ने सम्मको ‘डिल’ मिलाउने गरेको आशङ्का गरिएको छ ।

सेवाग्राहीहरूले अस्पताल प्रशासनको कमजोर निगरानीका कारण यस्तो गतिविधि मौलाउँदै गएको बताएका छन् । अस्पतालभित्र प्रहरी बिट हुँदाहुँदै पनि दलाल समूह सक्रिय रहेको भन्दै सर्वसाधारणले प्रहरी प्रशासनमाथि समेत प्रश्न उठाएका छन् ।

पीडित पक्षका अनुसार घटनाबारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साहलाई जानकारी गराइए पनि हालसम्म कुनै ठोस पहल वा कारबाही नभएको दाबी गरिएको छ ।

घटनापछि सेवाग्राहीहरूले स्वास्थ्य मन्त्रालय, मधेस प्रदेश सरकार, जिल्ला प्रशासन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

Back to top