×

वीरगञ्ज । नेपाल मेडिसिटी वयोधा हस्पिटल र फिन्तारा सोलुसन्स प्रालि भित्रको वन बीएनपीएल बीच अस्पताल सेवाको भुक्तानीलाई सहज बनाउन रणनीतिक साझेदारी सम्झौता भएको छ । सम्झौतासँगै अब अस्पतालमा उपचार गराउने बिरामीहरूले आफ्नो बिल तत्काल किस्ताबन्दी (EMI) मार्फत तिर्न सक्ने भएका छन् ।

अस्पतालले जारी गरेको जानकारीअनुसार यो सेवा पूर्ण रूपमा डिजिटल, पेपरलेस तथा तत्काल उपलब्ध हुने छ । ONE BNPL सँग आबद्ध बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले अस्पतालको योग्य बिललाई ३ महिनादेखि १८ महिनासम्मको किस्तामा रूपान्तरण गर्न सक्नेछन् । यसका लागि बिरामीलाई अतिरिक्त आर्थिक भार नपर्ने जनाइएको छ ।

यो पहल डा. उपेन्द्र महतो को गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ, पहुँचयोग्य र किफायती बनाउने सोचअनुसार अघि बढाइएको अस्पतालले जनाएको छ ।

हाल ONE BNPL सेवामा ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, कुमारी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, प्रभु बैंक, NMB बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी बैंक तथा माछापुच्छ्रे बैंकआबद्ध रहेका छन् । अस्पतालका अनुसार आगामी दिनमा थप बैंकहरू पनि यस सेवामा जोडिनेछन् ।

अस्पताल प्रशासनका अनुसार आकस्मिक तथा अप्रत्याशित स्वास्थ्य खर्चका कारण बिरामी र परिवारमा पर्ने आर्थिक दबाब कम गर्ने उद्देश्यले यो सुविधा ल्याइएको हो । “अब बिरामीले उपचारको खर्च तत्काल व्यवस्थापन गर्न नसक्दा उपचारमा अवरोध नहोस् भन्ने हाम्रो उद्देश्य हो,” अस्पतालले जनाएको छ ।

सम्झौतापछि नेपाल मेडिसिटी वायोधा अस्पताल नेपालमै वित्तीय प्रविधि (फिनटेक) समाधानलाई स्वास्थ्य सेवासँग जोड्ने अग्रणी संस्थामध्ये एक बनेको अस्पतालको दाबी छ । अस्पतालले बिलिङ, फ्रन्ट डेस्क, ग्राहक सेवा तथा अन्य सम्बन्धित विभागलाई EMI सेवाबारे बिरामीलाई आवश्यक सहजीकरण गर्न निर्देशनसमेत दिएको जनाएको छ ।

Back to top