वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा तथा कोन्सुलेट जेनरल अफ इन्डिया को सहयोगमा कोल इन्डिया लिमिटेडसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल–भारतबीचको औद्योगिक सहकार्य, ऊर्जा आपूर्ति तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव राजपालले अध्यक्षता गर्दै उद्योग व्यवसायको विकासका लागि ऊर्जा क्षेत्रको स्थायित्व आवश्यक रहेको बताए । उनले नेपालका उद्योगहरूलाई सहज र भरपर्दो ऊर्जा आपूर्तिका लागि भारतसँगको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगञ्जकी महावाणिज्यदूत देवी सहाय मीणा ले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध व्यापारिक र आर्थिक क्षेत्रमा अझ प्रगाढ बन्दै गएको बताइन् । उनले दुई देशबीच उद्योग, ऊर्जा तथा पूर्वाधार विकासमा सहकार्य बढ्दै गएको उल्लेख गर्दै यस्ता अन्तरक्रियाले निजी क्षेत्रबीच आपसी समझदारी मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।
त्यसैगरी कोल इन्डियाका कार्यकारी निर्देशक रजनीकान्त माफीले नेपालसँग दीर्घकालीन सहकार्य विस्तार गर्न इच्छुक रहेको जनाउँदै उद्योगहरूलाई आवश्यक पर्ने कोइला तथा ऊर्जा स्रोतको आपूर्तिमा सहजीकरण गर्न कम्पनी सकारात्मक रहेको बताए ।
कार्यक्रममा कोल इन्डियाका प्रबन्धक विद्याधर पाण्डेय तथा वरिष्ठ प्रबन्धक सन्तोष शाहले कम्पनीको कार्ययोजना तथा आगामी रणनीतिबारे प्रस्तुतीकरण गरेका थिए । उनीहरूले नेपालका उद्योगहरूलाई गुणस्तरीय सेवा र आपूर्ति प्रणाली उपलब्ध गराउने विषयमा जानकारी दिएका थिए ।
छलफलका क्रममा उद्योगी व्यवसायीहरूले कोइला आपूर्ति, ढुवानी व्यवस्थापन, मूल्य स्थायित्व तथा औद्योगिक सहकार्य सम्बन्धी जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागीहरूले नेपाल–भारत व्यापार सम्बन्धलाई थप प्रभावकारी बनाउन नियमित संवाद आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष आशिष कुमार लाठ, भारतीय महावाणिज्य दूतावासका वाणिज्य प्रतिनिधि मनीष डुडपुरी, संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा उपाध्यक्ष आशिष कुमार लाठले धन्यवाद ज्ञापन गरेका थिए ।