×

वीरगञ्ज । काठमाडौं–तराई/मधेश द्रुतमार्ग राष्ट्रिय गौरव आयोजनाको करिब आधा काम सम्पन्न भएको छ । योजना प्रमुख तथा उपरथी धर्मेन्द्रकुमार झा का अनुसार आयोजनाको हालसम्म ४७.५६ प्रतिशत भौतिक तथा ४७.४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।

बारा, पर्सा र मकवानपुरका सञ्चारकर्मीहरूसहित नेपाली सेनाको टोलीले सोमबार द्रुतमार्गको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा योजना प्रमुख झाले द्रुतमार्ग निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको बताएका हुन् ।

नेपाली सेना का प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत का अनुसार ७०.९७७ किलोमिटर लम्बाइ रहेको द्रुतमार्ग एशियन हाइवे डिजाइन स्ट्यान्डर्ड (प्राइमरी क्लास ‘ए’) अनुसार निर्माण भइरहेको छ । आयोजनाअन्तर्गत ७ स्थानमा १०.९७९ किलोमिटर लम्बाइका ट्विन टनेल निर्माण भइरहेका छन् भने ८९ स्थानमा पुल निर्माणको काम जारी रहेको छ ।

हालसम्म सुरुङमार्गतर्फ ६.४ किलोमिटर खन्ने कार्य सम्पन्न भएको छ । दुई स्थानमा ‘ब्रेकथ्रु’ सम्पन्न भइसकेको छ भने ३.४ किलोमिटर लामो अर्को सुरुङको ‘ब्रेकथ्रु’ असार महिनाभित्र गर्ने योजना रहेको सेनाले जनाएको छ । त्यस्तै ४ किलोमिटर सुरुङमा लाइनिङको काम सम्पन्न भइसकेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

पुल निर्माणतर्फ ८९ मध्ये १६ वटा पुलको ‘सुपरस्ट्रक्चर’ निर्माण सम्पन्न भएको छ । सडक निर्माणतर्फ ४७.११३ किलोमिटर क्षेत्रमा काम भइरहेको छ भने ७ किलोमिटर ‘सर्भिस लेन’ कालोपत्रे भइसकेको छ ।

आयोजनाको सुरु लागत २ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ रहेकामा परिमार्जित लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ कायम गरिएको छ । लागतमा २ अर्ब २ करोड रुपैयाँ घटाइएको योजना प्रमुख झाले जानकारी दिए ।

उनका अनुसार द्रुतमार्गमा ३ वटा इन्टरचेन्ज (खोकना, बुदुने र निजगढ), ३ वटा टोल प्लाजा (बुंगमती, बुदुने र निजगढ) तथा २ वटा विश्रामस्थल निर्माण हुनेछन् ।

आयोजना अन्तर्गत देवीचौर, सिसौटार, चन्द्राम भीर, महादेवडाँडा, घेद्रे, लेनडाँडा र मौरीभीर गरी ७ वटा सुरुङ निर्माण भइरहेका छन् । यी सुरुङहरूको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको बताइएको छ ।

आयोजना सम्पन्न भएपछि काठमाडौंदेखि निजगढसम्मको यात्रा समय करिब १ घण्टा २ मिनेटमा सीमित हुने विश्वास गरिएको योजना प्रमुख झाले बताए । उनका अनुसार आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाली सेनाले हाल ११ क्लस्टरमार्फत ६५ किलोमिटर क्षेत्रमा निर्माण कार्य अघि बढाइरहेको जनाएको छ ।

त्यस्तै आयोजनाका लागि हालसम्म ५५ हजार ३०४ रुख कटान गरिएको छ । क्षतिपूर्तिस्वरूप ७ लाख ५ हजार ५१२ वटा वृक्षारोपण ५ हजार ८६ हेक्टर क्षेत्रमा गरिएको योजना प्रमुख झाले जानकारी दिए ।

Back to top